धनगढीमा प्लास्टिक प्रतिबन्धपछि महिला समूहले खोले दुनाटपरी उद्योग
धनगढीः धनगढी उपमहानगरपालिकाले २०८० असोज १ गतेदेखि प्लास्टिक र प्लास्टिकजन्य वस्तुको प्रयोग, उत्पादन, भण्डारण र बिक्रीवितरणमा प्रतिबन्ध लगाएको छ।
उपमहानगरपालिकाले प्लाष्टिकका कचौरा र प्लेटमा प्रतिबन्ध लगाएसँगै विकल्पको रुपमा पातको दुना र टपरी प्रयोग गरिन थालेको छ। नगरवासीले भोजभतेर लगायतका कार्यक्रममा प्लास्टिकका प्लेट, थाल, कचौराको सट्टा सालको पातबाट निर्मित दुना र टपरी प्रयोग गर्न थालेका छन्।
प्लास्टिकको विकल्पमा दुना र टपरीको प्रयोगले एकातिर वातावरण र मानव स्वास्थ्यका लागी राम्रो भएको छ भने अर्कोतिर दुना र टपरी बनाउने काम पाएर स्थानीय महिला स्वरोजगार बन्न थालेका छन्। गत वर्ष १० वटा महिला समूह गठन गरेर तालिम तथा उपकरण सहयोग गरिएकोमा यो वर्ष पनि महिला समूहहरूलाई उपमहानगरपालिकाले दुना टपरी बनाउने उपकरण सहयोग गरिएको सहकारी तथा रोजगार प्रवद्र्धन शाखा प्रमुख लोकराज उपाध्यायले बताए।
‘धनगढी उपमहानगरपालिकाले गत वर्ष दसवटा महिला समूह गठन गरेर दुनाटपरी बनाउने तालिम दिइएको हो’, उनले भने, ‘गत वर्ष नै तालिम लिएका समूहलाई उपकरण पनि दिइएको हो। यो वर्ष पनि सातवटा उपकरण र विभिन्न साइजका डाइहरू सहयोग गरिएको छ।’ उपमहानगरले १० वटा समूह गठन गरेर तालिम र उपकरण सहयोग गरे झै वडाहरूले पनि वडाको बजेटबाट दुना टपरी बनाउन तालिम र उपकरण सहयोग गरेका छन्।
गत वर्ष धनगढी उपमहानगरपालिकाले विभिन्न वडाका महिलाहरूलाई दुना र टपरी बनाउने एक साताको तालिम दिएर उपकरण उपलब्ध गराइएको छ। धनगढीको वडा नम्बर १, ६, ७, ११, १३, १६ र १८ मा महिला समूहले दुना टपरी बनाउने काम थालेको उपाध्यायले बताए। प्लास्टिकको प्लेट र थालमा रोक लगाइएपछि महिला समूहले बनाएका दुना र टपरीको माग बजारमा बढेको छ।
महिला समूहले उत्पादन गरेका दुना टपरी बिक्री हुन नसके उपमहानगरपालिकाले बजारीकरणमा समेत सहयोग गर्ने सहकारी तथा रोजगार प्रवद्र्धन शाखा प्रमुख उपाध्यायले बताए। धनगढी उपमहानगरपालिकाले उपकरणसँगै विभिन्न साइजका डाइहरू पनि उपलब्ध गराएको छ। जसको सहायताले विभिन्न आकारका दुना र टपरी बनाउन मद्दत मिलेको छ। प्लास्टिक प्रतिबन्ध गरेका कारण सालको पातबाट बन्ने दुना टपरीको बजारमा माग बढेको छ। यसबाट महिलाहरूको आयआर्जनमा समेत सहयोग पुगेको छ।