सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा राष्ट्रिय परिचयपत्र बनाउन टोपी र गहना फुकालेर फोटो खिचिदै

२०८१ असार १९, १०:२० कमल सावद

धनगढीः कैलालीको पृथ्वीपुरका गोरे विस्ट मङ्गलवार जिल्ला प्रशासन पुगे। सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि छोराको सहारामा उनी जिल्ला प्रशासन पुगेका हुन्।

विष्टले राष्ट्रिय परिचय पत्रका लागि तस्बिर खिचाए। तस्बिर खिच्दा वृद्ध विष्टको ढाका टोपी खोल्न भनियो। सधै ढाका टोपी लगाउने वृद्धले नाङ्गो टाउकोमा तस्बिर खिचाए। नेपाल सरकारले दिने सामाजिक सुरक्षा भत्ता पाउन विष्टले राष्ट्रिय पोशाकभित्र पर्ने ढाका टोपी खोल्नु परेको हो। आँखा ठुलो बनाउदै विष्टले भने, ‘यस्तो आँखाले हेर भने, औलाले च्यापे। चार औलाले छाप लगाए। टोपी पनि निकाल्न भने। राम्रो आउदैन भनेर टोपी खोल्न भनियो।’

राष्ट्रिय परिचय पत्रका लागि तस्बिर खिच्न आउने पुरुषको ढाका टोपी खोल्ने गरिएको छ। पुरुषको घाँटीमा सुन वा चाँदीका लकेटहरु पनि खोल्ने गरिएको छ। महिलाका मङ्गलसुत्र लगायतका गहनासमेत तस्बिर खिच्दा खोल्ने गरिएको छ। पुरुषले लगाउने ढाका टोपी र विवाहित महिलाको पहिचानसँग जोडिएको मङ्गलसुत्रसमेत फुकाल्न लगाएर तस्बिर खिच्ने काम भइरहेको छ।

विवाहित महिलाहरुले लगाउदै आएको सिन्दुरसमेत राष्ट्रिय परिचय पत्रको तस्बिर खिच्दा पुछ्न लगाउने गरिएको छ। एक महिलाले भनिन, ‘गहना खोले, टीका पनि हटाए।’ राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जिल्ला प्रशासन तथा स्थानीय प्रशासनहरुबाट राष्ट्रिय परिचयपत्र वितरण गर्दै आएको छ। सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिर्वाय गरिएकाले भिड बढेको छ।

परिचय पत्रमा राष्ट्रियता नभएको तस्बिर राख्ने गरिएको हो। एक पुरुषले भने, ‘टोपी राष्ट्रिय पोसाक हो। नेपालको पहिचान र राष्ट्रियता निकाल्न लगाउनु राम्रो होइन।’ तर, जिल्ला प्रशासनले अस्वभाविक देखिएका ढाका बाहेकका टोपी र गहना खोल्न लगाउने गरेको तर्क गरेको छ। जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले अस्वभाविक देखिने नेपाली बाहेकका क्याप टोपी मात्र निकाल्न लगाउने गरिएको बताए।

कैलालीमा २०७८ सालमा ३७ हजार ६ सय ६०, २०६९ मा १६ हजार ९ सय ९३ र २०८० सालमा १६ हजार ९ सय ४५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ। यो वर्षको असारसम्म थप पाँच हजार चार सय ५० जनालाई परिचयपत्र वितरण गरिएको छ। जिल्लामा अहिलेसम्म चार लाख २५ हजार ८ सय पाँचवटा परिचयपत्र वितरण गरिएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस