सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा विपत् बाट ४० जनाको मृत्यु

२०८१ असार १८, ०९:५१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा विपत्का घटनाबाट ४० जनाको ज्यान गएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्क अनुसार साउन १ गतेदेखि असार १६ सम्म २० महिला र २० पुरुष गरेर ४० जनाको ज्यान गएको छ। सुदूरपश्चिममा एक महिनाको अवधिमा ५७५ वटा विपत्का घटना भएको केन्द्रको बुलेटिनमा उल्लेख छ।

सबैभन्दा बढी २६६ वटा आगलागीका घटना भएका छन्। जसमा चार पुरुष र सात महिला गरी ११ जनाले ज्यान गुमाएका छन् भने २९ जना घाइते भएका छन्। ४४ आंशिक र ३० पूर्ण गरी ७४ घरमा क्षति भएको छ। आगलागीबाट १०५ चौपायासमेत मरेको जनाइएको छ। सर्पदंशका ५३ घटना घटेका छन्। सर्पको टोकाइबाट हालसम्म सात जनाको मृत्यु भएको र ५५ जना घाइते भएका जनाइएको छ।

सर्पको टोकाइबाट ११७ चौपायाको पनि ज्यान गएको बुलेटिनमा उल्लेख छ। चट्याङबाट तीन पुरुष र चार महिला गरी सात जनाको ज्यान गएको छ। चट्याङ लागेर आठ जना घाइते भएको जनाइएको छ। त्यस्तै हावाहुरीबाट चार जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। बाढीबाट चार जनाको मृत्यु र ४७ जना घाइते भएका छन् । जङ्गली जनावरको आतङ्कबाट तीन जनाको मृत्यु र तीन हजार ३७७ घरपरिवार प्रभावित भएको जनाइएको छ। पहिरोबाट तीन तथा भूकम्प र लेक लागेर एक÷एक जनाको ज्यान गएको केन्द्रले जानकारी दिएको छ।

सुदूरपश्चिममा विपत्का घटनाबाट करिब एक वर्षमा १० करोड ७४ लाख ५७ हजार रुपियाँ बराबरको क्षति भएको छ। सबैभन्दा बढी आगलागीबाट १० करोड १० लाख ४२ हजार सात सय रुपियाँ बराबरको नोक्सान भएको हो। सुक्खायाममा विशेष गरेर वैशाख, जेठमा सबैभन्दा बढी आगलागीको घटना घटेको थियो। सर्पदंशबाट ९५ हजार, हावाहुरीबाट सात लाख ५० हजार रुपियाँ बराबरको नोक्सान भएको छ। बाढीबाट दुई लाख ५० हजार र वन्यजन्तुबाट २० लाख रुपियाँ बराबरको क्षति भएको जनाइएको छ।

केन्द्रले सम्बन्धित सरोकारवाला निकायलाई विपत्का घटनाबारे दैनिक जानकारी गराउने गरेको छ।

 

कमेन्ट लोड गर्नुस