सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको घोडाघोडीमा नगर स्तरीय परीक्षाका प्रश्नपत्र ‘लिक’

२०८१ असार १८, ०६:२५ खबर संवाददाता

धनगढी : कैलालीको घोडाघोडीमा नगर स्तरीय परीक्षाका प्रश्नपत्र ‘लिक’ भएका छन्। घोडाघोडी नगरपालिकाले असार १६ गतेदेखि सञ्चालन गरिरहेको नगर स्तरीय परीक्षाको प्रश्नपत्र लिक भएको पुष्टि भएको हो।

घोडीघोडी नगरपालिका विद्यालय स्तरीय परीक्षा समितिले गत जेठ २८ गते प्रथम त्रैमासिक परीक्षाको सूचना सार्वजनिक गर्दै तालिका सार्वजनिक गरेको थियो। असार १६ गते आइतवारदेखि सञ्चालन भएको कक्षा ९ र १० को परीक्षाको प्रश्नपत्र भने परीक्षा सञ्चालन हुनु भन्दा दुई दिन अगाडि शुक्रवार नै ‘लिक’ भएको पाइएको हो।

घोडाघोडी नगरपालिकाको शिक्षा शाखा अन्तर्गत परीक्षा समितिले सञ्चालन गर्ने प्रथम त्रैमासिक परीक्षाको प्रश्नपत्र छाप्ने जिम्मा घोडाघोडी नगरपालिका–१, सुखडमा रहेको घोडाघोडी छापाखानालाई दिएको थियो। तर, परीक्षा सञ्चालन हुनु पूर्व नै प्रश्नपत्र बाहिरिएपछि नयाँ प्रश्न पत्र बनाएर परीक्षा सञ्चालन भइरहेको छ। पहिलो र दोस्रो दिनको परीक्षा सञ्चालन भइसकेपछि सबै जसो विद्यालयमा प्रश्नपत्र लिक भएको जानकारी आएको थियो। असार १८ गतेको नेपाली विषयको प्रश्नपत्र नयाँ तयार पारिएको नगरपालिकाले जनाएको छ।

घोडाघोडी नगरपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर सिंहले प्रथम त्रैमासिक परीक्षाका प्रश्नपत्रहरू परीक्षा नहुँदै बाहिरिएको बताए। उनले भने, ‘प्रश्नपत्र परिक्षा नहुँदै बाहिरिएको विषय आएको छ। हामीले केही व्यक्ति माथि सँका गरेका छौ। तर, छानबिनका लागि समिति गठन भएको छैन। प्रश्न पत्र लिक गर्नेलाई पक्राउसमेत गरिएको छैन।’ उनले छापाखानाका सञ्चालक माथि सँका गरेका हुन। घोडाघोडी छापाखानाका सञ्चालक रुप लाल चौधरीले। आफ्नो छोरालाई केरकार गरेको बताए। उनले छापाखानाको र आफ्नो बदनाम गर्न आरोप लगाएको बताए। लाखौको लगानीमा छापिएका ७५ हजार प्रश्नपत्र खेर गएका छन्।

 

कमेन्ट लोड गर्नुस