सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सेनाले बनाएको ‘सेफ हाउस’ दोधारा–चाँदनीलाई हस्तान्तरण

२०८१ असार १८, ०३:५८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा नेपाली सेनाले सेफ हाउस (सुरक्षित घर) निर्माण गरेको छ। जिल्लाको कुतियाकवरको दक्षिण र उत्तरतर्फ महाकाली र जोगबुढा नदी छ।

महाकाली र जोगबुढाको दोसाधमा पर्ने उक्त वस्तीका बासिन्दाले गत वर्षसम्म वर्खामा ओमकार प्राविमा आश्रय लिने गरेका थिए। करिब तीन महिना लगाएर सेनाले कुतियाकवरमा दुई तले सुरक्षित घर बनाएको छ। सेनाले उक्त सुरक्षित घर दोधारा–चादँनी नगरपालिकालाई हस्तान्तरण गरेको छ। सुरक्षित घर बनेपछि कुतियाकवरका ४२ परिवार बाढीको बेला बाँचिने भयो भन्दै खुसी भएका छन्।

नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकले सेनाको  शीघ्र प्रभावी परियोजना अन्तर्गत यहाँ सुरक्षित घर निर्माण गरेको हो। नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथि गणेशकुमार श्रेष्ठले सुरक्षित घरको उद्घाटन गर्नुका साथै साँचो दोधारा–चादँनी नगरपालिकाका नगरप्रमुख किशोरकुमार लिम्बूलाई हस्तान्तरण गरेका छन्।

भवन हस्तान्तरणपछि पृतनापति उपरथी श्रेष्ठले सुरक्षित घरको सदुपयोगसँगै मर्मत सम्भारमा ध्यान दिन नगरपालिकालाई आग्रह गरेका छन्। सेनाले सुरक्षित घर बनाइदिएपछि २०३९ सालदेखि बाढीको जोखिम मोलेर बस्दै आएका कुतियाकवरवासी खुसी भएका छन्। स्थानीय खड्के बुढाले सुरक्षित घरले मानवीय क्षति हुनबाट जोगिने आश जागेको बताए।

जोगबुढा नदीमा पुल नहुँदा वर्खामा विद्यार्थी विद्यालय आवतजावत गर्न मुस्किल हुने गरेको छ। ४२ परिवारको बसोबास रहेको कुतियाकवर भारतीय सिमानासँग जोडिएको बस्ती हो। सो बस्ती २०२२ सालमा बसेको हो। कुतियाकवरका टङ्कलाल जोशीले नेपाली सेनालाई सेफ हाउस बनाउन दश धुर जमिन निःशुल्क उपलब्ध गराएका हुन्।

झण्डै ६० जना क्षमताको उक्त सेफ हाउस निर्माणका क्रममा सेनालाई दोधारा–चादँनी नगरपालिका र केही निर्माण व्यवसायीले सहयोग गरेका थिए। दोधारा–चादँनी नगरपालिकाका नगरप्रमुख किशोरकुमार लिम्बूले २०७८ सालमा बाढी आउँदा कुतियाकवरवासीले रुखमा चढेर ज्यान जोगाएका विगत सुनाए।

कमेन्ट लोड गर्नुस