सुदूर नेपाललाई विश्वसँग जोड्दै

ड्रागन’खेतीबाट प्रशस्त आम्दानी गर्दै ढकाल

२०८१ असार १८, ०३:४३ खबर संवाददाता

धनगढीः कैलालीको लम्कीचुहा– १ का गणेश ढकाल ड्रागन’खेतीबाट प्रशस्त आम्दानी गर्दै आएका छन्।

राजनीतिकसँगै ड्रागन फल खेतीमा लागेका गणेश ढकाललाई यति बेला भ्याइनभ्याइ छ। राजनीतिकसँगै उत्पादनसहितको आयआर्जनमा जोडिनुपर्छ भनेर उनले तीन वर्षअघि २०७८ देखि ड्रागन फल खेती सुरु गरेका थिए। यस क्षेत्रमा धेरैलाई ड्रागनखेती गर्नुपर्छ भन्ने थाहा थिएन तर विभिन्न माध्यमबाट उक्त खेतीबारे जानकारी पाएका ढकालले तीन वर्षअघि सात लाख लगानी गरेर व्यवसाय सुरु गरेका थिए।

उनले दाङ र बाँकेबाट आठ सय बिरुवा ल्याएर खेती सुरु गरेको बताए। ती बिरूवाले यतिखेर प्रशस्त उत्पादन दिइरहेका छन्।‘भूमिपुत्र कृषि तथा पशुपक्षी फर्म ड्रागन पार्क’ नामक फार्म स्थापना गरेर ड्रागनको खेती सुरू गरेका ढकालले एक वर्षमै फल र बिरूवा बेचेर मनग्य आम्दानी भइरहेको बताए।

उनको फार्ममा ‘मलेसियन रेड’ प्रजाति (रातो फल) को ड्रागन लटरम्मै फलेको छ। साथै यो वर्षदेखि उनले ‘हाईब्रेड सि’ रेड प्रजाति (रातो फल) को ड्रागन फलसमेत लगाएको जानकारी दिए।  २०४७ सालदेखि विद्यार्थी राजनीतिमा लागेको बताउने ढकाल १० बर्से जनयुद्धमा समेत सामेल भएका थिए। उनिँ विप्लव सी नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टीमा आवद्ध छन्।

पार्टी कामकै सीलसीलामा देशका विभिन्न भागमा जानेक्रममा दाङ र बाँकेमा गरिएको ड्रागन फल खेतीबाट सामान्य जानकारी पाएपछि आफैँंले खेती सुरु गरेको ढकालले बताए। पानी नजम्ने बलौटे माटोमा फल्ने ड्रागन फलले वैशाखदेखि कात्तिकसम्म फल दिने गरेको छ।

स्वादिलो तथा पोषिलो यो फलको माग राम्रो रहेको थाहा पाएपछि यसतर्फ लागेका ढकालले वार्षिक आठ क्वीन्टलसम्म फलको कारोबार गरिसक्नुभएको छ। उनले पहिलो वर्षमा ६० किलोग्राम फल बेचेर रु चार लाखबढी आम्दानी गरेको बताए। दोस्रो वर्षमा आठ क्वीन्टल फल र एक हजार बिरुवा बेचेर छ लाख आम्दानी गर्नुभएका ढकालले यो वर्ष १६ क्वीन्टल  फल र तीन हजार बिरुवा बिक्री गरी १२ देखि १५ लाखसम्म आम्दानी गर्ने लक्ष्य रहेको बताए। बजारमा ड्रागन फल प्रतिकिलो सात सय ५० पर्ने गरेको छ तर उनले बारीबाटै छ सय ५० मा बिक्री गर्ने गरेका छन्। भने बिरुवा दुई सय ५० मा बेच्ने गरेका छन्।

ड्रागन खेती गर्दै आएका ढकालले तीन जनालाई रोजगारीसमेत दिएका छन्। ढकालले एउटा बोटमा पाँच केजीसम्म फल लाग्ने गरेका र उत्पादित फल स्थानीय लम्की बजारका साथै धनगढी, नेपालगञ्ज र सुर्खेतसम्म पठाउने गरेको बताए। ‘स्थानीय र जिल्लामा रहेका बजारका साथै टाढाबाट पनि माग आइरहेको छ तर सीमित उत्पादनका कारण मागपूर्ति गर्न नसकिएको  हुँदा ड्रागन खेतीलाइ अझ विस्तार गर्ने योजना रहेको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस