सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरी नगरपालिकाको बदमासी, निजी सवारी मर्मत गर्न वडासदस्यलाई भुक्तानी

२०८१ असार १७, ११:०८ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरी नगरपालिकाले बजेटमा मनोमानी गर्दै आएको पाइएको छ। सो नगरपालिकाले निजी सवारीसाधन मर्मत गर्न समेत नगरपालिकाबाट भुक्तानी गर्दै आएको खुलेको छ।

नगरपालिकाले निजी सवारसाधन मर्मत गर्न ६३ हजार ३३२ रुपैयाँ भुक्तानी गरेको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ को उपनियम ५ मा जिम्मेवार व्यक्तिले खर्च गर्नुअघि त्यस्तो रकम खर्च गर्न वा भुक्तानी दिन आवश्यक बिल भरपाइ र कागज संलग्न भए वा नभएको तथा संलग्न कागजातअनुसार भुक्तानी दिन रित पुगे वा नपुगेको जाँच गर्नुपर्ने व्यवस्था छ।

तर गोदावरी नगरपालिकाले भने उल्लेखि कुनै व्यवस्थाको पालना नगरेरै निजी गाडी मर्मतमा मनलाग्दी भुक्तानी गर्दै आएको छ। नगरपालिकाले बा २८ च ४३५९ नम्बरको निजी सवारीसाधन मर्मतवाफत अनुगमन समितिका संयोजक तथा २ नम्बर वडाका वडासदस्य देवराज भट्टलाई ६३ हजार ३३२ रुपैयाँ भुक्तानी गरेको छ।

यसरी निजी सवारीसाधनको नाममा गरिएको भुक्तानी असुल गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयले सुझाउँदै सो रकम बेरुजूको रुपमा राखेको छ। यसका साथै गोदावरी नगरपालिकाले जेष्ठ नागरिकको लागि वितरण भरपाई बिना नै ७६५ बलाङ्केटको नाममा ९ लाख ५५ हजार ४८५ रुपैयाँ खर्च गरेको छ।

कमेन्ट लोड गर्नुस