कैलालीमा मध्य असारसम्म ४० प्रतिशत खेतमा मात्र रोपाइ
धनगढीः कैलालीमा ४० प्रतिशत खेतमा मात्र रोपाइ सकिएको छ।
कुल ६५ हजार हेक्टर क्षेत्रफलमा रोपाइ हुने गरेकोमा अहिलेसम्म ४० प्रतिशत खेतमा मात्र रोपाइ सकिएको हो। कैलालीमा असारको १५ गतेसम्म ८० प्रतिशत खेतमा रोपाइ हुँदै आएको थियो। तर, यो वर्ष खडेरीका कारण ६० प्रतिशत धानखेतमा रोपाइ हुन बाँकी छ। सिँचाइ सुविधा नभएका क्षेत्रमा किसानले रोपाइ गर्न पाएका छैनन्।
समयमा रोपाइ सुरु नहुँदा उत्पादनमा कमी आउने विज्ञहरुको तर्क छ। कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख हरिप्रसाद पनेरुले धानको उत्पादन घट्न सक्ने बताए। उनले भने, ‘उत्पादनमा असर हुन्छ। २५ दिनको बेर्ना रोप्ने हो। बेर्ना बढेपछि उत्पादनमा कमी आउछ। २÷४ दिनभित्र पानी परेन भने झर्ने समस्या हुन्छ।’ कैलालीमा ६५ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ।
जिल्लामा ५२ प्रतिशत खेतमा मात्र सिँचाइ सुविधा पुगेको छ। बाँकी क्षेत्रका किसानले आकाशको पानीले रोपाइ गर्दै आएका छन्। यो वर्ष वर्षात नभएकाले किसानले रोपाइ गर्न पाएका छैनन्। कैलालीमा मध्य असारसम्म ४० प्रतिशत क्षेत्रफलमा मात्र रोपाइ भएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख हरिप्रसाद पनेरुले बताए।
कैलालीमा असार १५ सम्म ८० प्रतिशत खेतमा रोपाइ हुने गरेको थियो। तर, यो वर्ष खडेरीका कारण पानीको हाहाकार भएको छ। जिल्लाका ४८ प्रतिशत किसान आकाशे पानीको भरमा छन्। बेर्ना राखेको २५ दिनमा रोप्नुपर्ने हुन्छ। तर, अधिकांश किसानले समयमा रोपाइ गर्न नपाएपछि धान उत्पादनमा कमि आउने हिमालय ग्रुपका प्रबन्धक लोकेश भट्टले बताए।
उनले चक्ला बन्दीमा काम गर्न आवश्यक रहेको बताए। उनले भने, ‘यो कृषि क्षेत्रको विकासका लागि चक्ला बन्दीबाट कृषि गर्न आवश्यक छ। जमिन खण्डीकरण हुँदैछ। बिउ राम्रो बनाउनुपर्छ। बिउ राम्रो भए, उत्पादन पनि राम्रो हुन्छ।’
कैलालीमा एक हप्तासम्म पानी नपरे किसानको ठुलो क्षति हुने चिन्ता समेत गरिएको छ।
कैलालीमा राष्ट्रिय गौरवको सिँचाइ आयोजना रानी–जमरा–कुलरीया सञ्चालनमा छ। महाकाली सिँचाइ आयोजनाको पानी कैलालीसम्म पुगेको छैन। कर्णालीको पानी पश्चिमी क्षेत्रमा पुगेको छैन। मोहना सिँचाइ आयोजनाको काम पनि अलपत्र छ। कृषि ज्ञान केन्द्र, कैलालीका प्रमुख पनेरुले सिँचाइ कार्यालयले नहरको काम गर्दै आएको बताए।