सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमबाट एसईई दिएका ५२ हजार ६१८ विद्यार्थीमा ३५ हजार ९८५ को एनजी ग्रेड

फाइल फोटो
फाइल फोटो
२०८१ असार १४, ०४:०४ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिमबाट २०८० को एसईई परीक्षामा ५२ हजार ६१८ जना सामेल भए। उनीहरूमा ३१ दशमलव ६१ प्रतिशत अर्थात् केवल १६ हजार ६३३ जना मात्रै उत्तीर्ण भएका हुन्। परीक्षामा सम्मीलित भएकामध्ये ३५ हजार ९८५ विद्यार्थीको एनजी ग्रेड आएको छ।

एसईईमा बझाङ जिल्लाबाट ४ हजार ७० जना विद्यार्थी सहभागी भएका छन्। उनीहरूमा एक हजार ९७१ जना अर्थात् ४८ दशमलव ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। दोस्रो बढी प्रतिशत विद्यार्थी पास भएको कञ्चनपुरमा ९ हजार ६९१ जना परीक्षार्थीमा ३ हजार ६९९ अर्थात् ३८ दशमलव १७ प्रतिशत विद्यार्थी पास भएका छन्।

बाजुराका २ हजार ८३४ जना परीक्षार्थीमा एक हजार ५ अर्थात् ३५ दशमलव ४६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। बैतडीका भने ३१ दशमलव ४९ प्रतिशत परीक्षार्थी  सफल भएका छन्। बैतडीबाट ४ हजार ८९४ जना परीक्षामा सम्मीलित भएकामा एक हजार ५४१जना मात्रै पास भएका हुन्।

कैलाली जिल्लाबाट सर्वाधिक १८ हजार ६० जना विद्यार्थी परीक्षामा सम्मीलित भएकामा केवल ५ हजार ४२८ जना मात्रै पास भएका छन्। यो कुल परीक्षार्थीको ३० दशमलव ६ प्रतिशत मात्रै हो।

अछामका २८ दशमलव ८६ प्रतिशत परीक्षार्थी सफल भएका छन्। परीक्षामा भने ४ हजार ९ सय जना सहभागी भएकामा केवल १ हजार ४१४ जना मात्रै उत्तीर्ण भएका छन्।

डडेल्धुराका २० दशमलव ८४ प्रतिशत अर्थात् ५१७ जना एसईईमा उत्तीर्ण भएका छन्। जिल्लाका २ हजार ४८१ परीक्षार्थी मध्ये १ हजार ९६४ को एनजी ग्रेड आएको छ।

दार्चुला जिल्लाबाट २ हजार ५७५ विद्यार्थी परीक्षामा सम्मीलित भएकामा  १९ दशमलव ९६ अर्थात् जम्मा ५१४ जना मात्रै पास भएका छन्। यस्तै, डोटीबाट ३ हजार ११३ जना परीक्षार्थी सहभागी भएकामा मात्र ५४४ जना पास भएका छन्। यो कुल परीक्षार्थीको केवल १७ दशमलव ४८ प्रतिशत हो।

सुदूरपश्चिमबाट ६ जनाले मात्रै ४ जिपिए ल्याएका छन्। ३.६ देखि ४ भन्दा कम जिपिए ल्याउनेको संख्या केबल ७२८ छ भने ३.२ देखि ३.६ जिपिए ल्याउनेको संख्या ३ हजार ७० रहेको शिक्षा निर्देशनालयले जनाएको छ। यसैगरी, २.८ देखि ३.२ जिपिए हासिल गर्नेको संख्या ६ हजार ५३३, २.४ देखि २.८ सम्म ल्याउनेको सङ्ख्या ५ हजार ६५९, र २ जिपिएदेखि २.४ सम्म ल्याउनेको सङ्ख्या ६३७ रहेको तथ्याङ्क  शिक्षा निर्देशनालयले उपलब्ध गराएको छ। प्रदेशभर एनजी ल्याउनेको सङ्ख्या ३५ हजार ९८५ र पास हुनेको सङ्ख्या १६ हजार ६३३ रहेको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस