सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा फोहरलाई ‘चक्रिय’ अर्थव्यवस्थामा परिणत गरेर रोजगारी सिर्जना

२०८१ असार १३, ०९:१८ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले फोहरमैलालाई विधिसम्मत रुपमा व्यवस्थापन गर्ने काम गर्दै आएको छ।

धनगढीमा रेखिय अर्थव्यवस्थाको रुपमा रहेको फोहरमैला व्यवस्थापनलाई चक्रिय अर्थव्यवस्थामा परिणत गरेर रोजगारी सिर्जना र आन्तरिक राजस्वमा वृद्धि गर्ने काम भएको छ। धनगढीले फोहरमैला व्यवस्थापनमा गरेका प्रयास र स्वच्छतासम्वन्धि पहलको कदर गर्दै ग्लोबल एलाइन्स फर इन्सिरेशन अल्टरनेटिभ्स (जिएआइए)बाट जिरो वेष्ट सिटिज टेनवर्कको फाउण्डिङ मेम्बरको सदस्यता प्रदान गरेको छ।

उपमहानगरले संकलित फोहरलाई छुट्याएर कम्पोष्ट मल, बायो ग्यास उत्पादन र रिसाइकल गर्न सकिने फोहर बेचेर आम्दानी गर्न थालेको छ। धनगढीले फोहर बिक्रीबाट हालसम्म करिब १९ लाख रुपैयाँ आम्दानी गरिसकेको छ। उपमहानगरपालिकाले वडा नम्बर १ देखि ८ र १३ मा दैनिक रुपमा फोहर संकलन गर्दै आएको छ भने बाँकी वडामा १० देखि १५ दिनमा ट्रयाक्टर पठाएर फोहर संकलन गर्ने काम हुँदै आएको छ।

संकलित फोहर छुट्याउन उपमहानगरपालिकाले वडा नम्बर २ मा वार्षिक डेढ लाख रुपैयाँ भाडा तिर्ने गरेर २ विघा जमिन भाडामा लिएको छ। संकलित फोहरमध्ये दैनिक ८ देखि १० टन नकुहिने फोहर प्राइभेट पार्टनर देव तालिम केन्द्रलाई दिने गरेको छ। नकुहिने फोहरबाट तालिम केन्द्रले कम्प्रेस नेचुरल ग्यास (सिएनजी) उत्पादन गरिरहेको छ। सो ग्यास बजारमा ल्याउन अनुमति माग गरिएको छ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, धनगढी उपमहानगरपालिका र देव तालिम केन्द्रको लगानीमा निर्माण गरिएको बायो प्लान्ट २० वर्षसम्म तालिम केन्द्रले सञ्चालनको अधिकार पाएको छ। केन्द्रले दैनिक एक सय सिलिण्डरको हाराहारीमा ग्यास उत्पादन गरिरहेको छ। ग्यास उत्पादन गरी बचेको फोहरबाट कम्पोस्ट मल पनि उत्पादन गरिरहेको छ। दैनिक तीन हजार क्विन्टल मल उत्पादन हुने गरेको छ।

धनगढीमा फोहरमैलाको व्यवस्थापन गर्ने नीति पहिलेदेखि भए पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको थिएन। हाल फोहर व्यवस्थापनको चार पिलर (नीति, बजेट, भौतिक पूर्वाधार र जनचेतना) लाई एक्टिभ बनाएर व्यवस्थापन गर्ने काम भइरहेको छ। टोलटोलमा फोहरमैला व्यवस्थापनका लागि गरिएको जनचेतनाले ९० प्रतिशत फोहर स्रोतमै छुट्टिएर आउने गरेको छ भने बाँकी १० प्रतिशत फोहर सुक्ष्म वर्गीकरण केन्द्रमा छुट्याइने गरेको छ।

घरदेखि विद्यालयसम्म फोहरमैला व्यवस्थापन सम्बन्धी जनचेतना र सहभागिता गराउने नीति लिएको धनगढीले फोहरमैला सम्बन्धी उत्कृष्ट, अनुकरणीय कार्य गर्ने सरसफाइ समिति, शैक्षिक संस्था (निजी र सरकारी) र क्लबलाई पुरस्कृत गर्ने कार्यक्रम बनाएको छ। आगामी आर्थिक वर्षमा फोहरको पुनः प्रयोग र पुनः प्रशोधन गर्ने कार्यको बिजनेस मोडल तयार गर्ने योजना छ। साथै आगामी आर्थिक वर्षमा नमुना विद्यालय छनौट गरी शून्य फोहर अवधारणा अनुसार सरसफाइ कार्यक्रम सञ्चालन गर्ने योजना छ। यसका साथै उपमहानगरपालिकाले धनगढी बजार क्षेत्रका विभिन्न ७ स्थानमा स्मार्ट शौचालय निर्माण कार्य समेत सुरु गरिसकेको छ।

कमेन्ट लोड गर्नुस