धनगढीमा ‘पोर्टेबल बुस्टर’देखि ब्रुमरसम्मै खरिद, थपिदै स्रोतसाधन
धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीले ‘पोर्टेबल बुस्टर’देखि ब्रुमरसम्म खरिद गरेर सञ्चालनमा ल्याएको छ।
पम्पसहितको बुष्टरदेखि सडक सफा गर्न प्रयोग गरिने बु्रमर उपमहानगरपालिकाले खरिद गरेर सञ्चालनमा ल्याएको हो। आवश्यक स्रोतसाधनमा उपमहानगरपालिकालाई आत्मनिर्भर बनाउने प्रयास थालिएको छ। धनगढीको पूर्वाधार विकासमा आवश्यक पर्ने केही उपकरण पनि उपमहानगरले खरिद गरेर सञ्चालनमा ल्याएको छ।
धनगढीले उपमहानगरबाट गरिने सेवाहरुका लागि ८ वटा टिप्पर, पाँचवटा व्याको लोडर, तीनवटा ट्याक्टर, दुईवटा पानी ट्यांकी, एउटा एम्बुलेन्स र एउटा सडक सफा गर्ने ब्रुमर खरिद गरेर सञ्चालनमा ल्याएको छ। उपमहानगरपालिकाले ९५ लाखको लागतमा ब्रुमर खरिद गरेर सञ्चालनमा ल्याएको हो। यसका साथै विपद व्यवस्थापनका लागि दुईवटा फायर बाइक र एउटा पम्पसहितको पोर्टेबल बुस्टर खरिद गरेर सञ्चालनमा ल्याइएको छ।
उपमहानगरपालिकाले कुल धर्मअनुसार दाहसंस्कारको काम गर्ने आफन्त घरबाट टाढा रही दाहसंस्कार गर्न मृतकको पार्थिब शरीर केहीदिन जोगाएर राख्न सहज होस भनेर दुईवटा शव चिस्यान मेसिन समेत खरिद गरेर निःशुल्क रुपमा सेवा प्रदान गर्ने काम हुँदै आएको छ। जेठ मसान्तसम्म मात्र ६३ मृतकको पार्थिब शरीरलाई चिस्यान सेवा उपलब्ध गराइसकिएको उपमहानगरपालिको जनाएको छ।
धनगढीमा १० किलोमिटर ग्राभेल सडक निर्माण गरिएको छ। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म धनगढी उपमहानगरपालिकाले १० किलोमिटर ग्राभेल सडक निर्माण गरेको हो। सो अवधिसम्म उपमहानगरभित्र विभिन्न स्थानमा गरेर नयाँ ग्राभेल सडक निर्माण गरिएको छ।
यसका साथै धनगढीमा १७ किलोमिटर विद्युत लाइन समेत विस्तार गरिएको छ। करिब एक वर्षको अवधिमा उपमहानगरपालिकाले विभिन्न स्थानका सडकमा तीन सय ४५ मिटर लम्बाई बराबरका एक सय ३८ थान ह्युमपाइप राख्ने काम भएको उपमहानरपालिकाले जनाएको छ।