सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्कुले बालकसहित ५ जनालाई खोलाले बगायो

२०८१ असार ११, ०४:५४

मोरङः मोरङको सुन्दरहरैंचा र केराबारीमा गरी ५ जनालाई खोलाले बगाएको छ। बुढीखोलामा आएको बाढीले मंगलवार दिउँसो सुन्दरहैचाका ४ महिलालाई बगाएको छ भने केराबारीमा एक बालकलाई बगाएको हो।

केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईलाई स्कुल जाने क्रममा गोविने खोलाले बगाएको छ। सुन्दरहरैचा नगरपालिका–५ गौशाला नजिकै बुढीखोलामा माछा मार्ने क्रममा दिउँसो साढे १२ बजे एक्कासी आएको बाढीले ४ जना महिलालाई बगाएको हो।

सुन्दरहरैचा – ५ की २२ वर्षीय स्वस्तिका चौधरी, सोही स्थानकी ६० वर्षीय असरादेवी चौधरी, ३० वर्षीय फुला चौधरी, २२ वर्षीय फुदनी भनिने प्रेमकला चौधरीलाई बगाएको हो। बगाएकामध्ये २२ वर्षीय स्वस्तिका चौधरीको स्थानीयले उद्धार गरेका छन्।
प्रेमकला चौधरीको बुढीखोलाको पश्चिम किनारमा खण्ड सुनसरी ४ मा शव फेला परेको छ। असरादेवी, फुला चौधरी बेपत्ता छन्।

११ वर्षीय श्याम राईलाई गोविने खोलाले बगाएको हो। उनको शव करिब एक सय मिटर तल भेटिएको वडाध्यक्ष शिवप्रसाद तामाङले बताए। खोलामा परेका अरूलाई भने उद्धार गरिएको छ।
 

कमेन्ट लोड गर्नुस