सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ताल र खुला क्षेत्र ‘पन्ड पार्क एण्ड पिपुल–३ पी’ अनुरुप अध्ययन गरिने

२०८१ असार ११, १२:३८ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले ताल, तलैया, पार्क र खुला क्षेत्रलाई नयाँ मोडलको रुपमा विकास गर्ने भएको छ।

उपमहानगरपालिकाले ताल, तलैया, पार्क र खुला क्षेत्रलाई ‘पन्ड पार्क एण्ड पिपुल–३ पी’ अवधारणाअनुरुप विस्तृत रुपमा अध्ययन समेत गर्ने भएको छ। सो अवधारणाअनुरुप अध्ययन गरेर ताल, तलैया, पार्क र खुला क्षेत्रलाई ‘बिल्ट अन अपरेटर एण्ड ट्रान्सफर’ (डीबीओओटी) तथा ‘बिल्ट ओन अपरेटर एण्ड ट्रान्सफर’ (बीओओटी) मोडलमा विभिन्न संघसंस्था तथा निजी क्षेत्रमार्फत विकास तथा सञ्चालन गरिने विषयमा उपमहानगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा उल्लेख छ।

यसका साथै खाली क्षेत्र र सडक किनारलाई व्यवस्थित ‘स्ट्रिट फुड जोन’ को रुपमा विकास गरिनेछ। सो क्षेत्रलाई पार्किङ क्षेत्र र बगैंचाको रुपमा विकास गरिने विषय पनि नीति तथा कार्यक्रमा समावेश गरिएको छ। उपमहानगरभित्र सञ्चालन हुने नगर बस, अटो–रिक्सा लगायत सवारीसाधनलाई व्यवस्थित गरेर निश्चित स्थानमा चढ्ने, ओराल्ने र पार्किङ गर्ने व्यवस्था गरिने उपमहानगरपालिकाले जनाएको छ।

वडा नम्बर १७ सरौटास्थित भल्का वाटर स्पटका तालहरुलाई संरक्षण गरेर वनभोज स्थल र वडा नम्बर १४ मा रहेको सुन्दरी तालमा पूर्वाधार विकास गरेर पर्यटकीय स्थलको रुपमा विकास गर्न थप पूर्वाधार निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

कमेन्ट लोड गर्नुस