सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा १२ स्थानीय तहले ल्याए बजेट, मेयर सुशीला भने डेनमार्क भ्रमणमा

२०८१ असार ११, ०९:५४ खबर संवाददाता

धनगढीः कैलालीका १२ वटा स्थानीय तहहरुले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन्।

कुल १३ स्थानीय तहमध्ये १२ वटा स्थानीय तहहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन्। असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार १२ स्थानीय तहले निर्धारित समयमै बजेट ल्याएका हुन्। लम्कीचुहा नगरपालिकाले भने नीति तथा कार्यक्रम र बजेट प्रयोजनका लागि असार २५ गते नगर सभा बोलाएको छ।

एउटा उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिका रहेको कैलालीमा लम्कीचुहा बाहेकका १२ वटा स्थानीय तहले साढे १० अर्ब बराबरको बजेट सार्वजनिक गरेका छन्। मोहन्याल गाउँपालिकाले असार ६ गते। धनगढी उपमहानगरपालिकाले असार ७ गते, गोदावरी नगरपालिका, बर्दगोरिया गाउँपालिका र जानकी गाउँपालिकाले असार ९ गते नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका थिए।

गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका र चुरे गाउँपालिकाले भने हिजो (सोमबार) बजेट सार्वजनिक गरेका हुन्। कैलालीमा आगामी आर्थिक वर्षका लागि सबभन्दा धेरै धनगढी उपमहानगरपालिकाले बजेट ल्याएको छ। ११औँ नगर सभा बैठकमा उपप्रमुख कन्दकलाकुमारी रानाले २ अर्ब १८ करोड ८२ लाख बराबरको बजेट प्रस्तुत गरेकी थिइन्।

उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ को भन्दा २५ करोड ७४ लाख ८ हजार २ रुपैयाँले बढी बजेट सार्वजनिक गरेको छ। उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि कूल एक अर्ब ९३ करोड ८ लाख २४ हजार २१८ रुपैयाँ बराबरको बजेट ल्याएको थियो। उपमहानगरपालिकाले चालुतर्फ १ अर्ब २० करोड र पुँजीगत खर्चतर्फ ९८ करोड २६ लाख बजेट विनियोजन गरेको छ।

३६ करोड ७६ लाख आन्तरिक आम्दानी हुने अनुमान गरिएको छ। गोदावरी नगरपालिकाले १ अर्ब २२ करोड ३३ लाख ६५ हजार बजेट सार्वजनिक गरेको छ। गोदावरीले चालु आर्थिक वर्षभन्दा आगामी आर्थिक वर्षको बजेट ६१ लाख ५ हजार रुपैया कम ल्याएको छ। घोडाघोडी नगरपालिकाले ९७ करोड ४४ लाख ८७ हजार, गौरीगंगा नगरपालिकाले ९५ करोड ४५ लाख, टीकापुर नगरपालिकाले ८५ करोड ४४ लाख र भजनी नगरपालिकाले ६८ करोड ९७ लाख ६० हजारको बजेट ल्याएको छ।

बर्दगोरिया गाउँपालिकाले ८० करोड १ लाख, कैलारी गाउँपालिकाले ७७ करोड २१ लाख, जानकी गाउँपालिकाले ६८ करोड ५६ लाख, जोशीपुर गाउँपालिकाले ५५ करोड ३ लाख, मोहन्याल गाउँपालिकाले ५३ करोड ८८ लाख र चुरे गाउँपालिकाले ४८ करोड ६४ लाख बजेट ल्याएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याएकामध्ये धनगढी उपमहानगरपालिका र मोहन्याल गाउँपालिकाले सभाबाट समेत पारित गरिसकेका छन् भने अन्य स्थानीय तहले छलफलपछि पारित गर्नेछन्।
बजेट ल्याउने समयमा मेयर डेनमार्क भ्रमणमा
स्थानीय तहहरुले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट कार्यक्रम ल्याइसक्नुपर्ने कानुनी व्यवस्था भएपनि कैलालीको लम्की चुहा नगरपालिकाले भने ल्याउन सकेको छैन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगर सभामा पेस गरिएपनि बजेट भने ल्याउन नसकेको हो। नगर प्रमुख सुशीलाकुमारी शाही वैदेशिक भ्रमणको क्रममा डेनमार्कमा छिन्। उनी गत जेठ ३० गते नै डेनमार्कको लागि उडेकी हुन्।

उनी फर्केपछिमात्र नगरपालिकाले बजेट ल्याइने भएको छ। नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भने जेठ २१ गते नै पारित गरिसकेको उपप्रमुख जुना चौधरीले बताइन्। नगरपालिकाको बजेट ल्याउन छोडेर वैदेशिक भ्रमणमा रमाउन थालेपछि नगरप्रमुख शाहीको आलोचना भइरहेको छ।

नगरपालिकाको बजेट कार्यक्रम भन्दा उनको प्राथमिकतामा भ्रमण परेको भन्दै आलोचना भइरहेको हो। नगर उप-प्रमुख चौधरीका अनुसार मेयर ज्युले कसैलाई पनि कार्यवाहको जिम्मेवारी नदिएपछि बजेट ल्याउन नसकिएको हो। ‘हाकिम साप पनि काठमाण्डौं हुनुहुन्छ, वैदेशिक भ्रमणमा मेयर ज्यु डेनमार्ग हुनुहुन्छ, कसैलाई पनि कार्यवाहक नदिएपछि कसको अध्यक्षतामा बजेट ल्याउनु’?

कमेन्ट लोड गर्नुस