कैलालीमा पाँच सय घरटहरा भत्काइयो
धनगढीः कैलालीमा पाँच सयको संख्यामा घरटहरा भत्काइएको छ।
जिल्लाको भजनी नगरपालिका–१ र ९ मा बाढीपीडितका नाममा १८ वर्षदेखि बस्दै आएका करिब पाँच सय घरटहरा सोमबार भत्काइएको हो। डिभिजन वन कार्यालय पहलमानपुरले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा घरटहरा भत्काएको हो। वर्षातका बेला घर डुबान परे भनेर केही दिनलाई बस्न आएकाहरूले जङ्गल क्षेत्र खाली नगरेकाले हटाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक पदमबहादुर विष्टले बताए।
डिभिजन वन कार्यालयका प्रमुख रामविचारी चौधरीको नेतृत्वमा घरटहरा भत्काउन थालिएको हो। भजनी बजार छेउमा रहेको जङ्गलमा सो नगरपालिकाको वडा नम्बर ३, ५, ७ र ९ का बासिन्दाहरू बाढीपीडित भन्दै बस्न आएका थिए।