सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–दीपायल द्रुतमार्गः ४२ करोड बजेट विनियोजन, तिर्नुपर्ने दायित्व २२ करोड

२०८१ असार ९, ०६:४५ कमल सावद

धनगढीः धनगढी–दीपायल–चैनपुर–उरैभञ्ज्याङ सडक निर्माणका लागि ४२ करोड बजेट विनियोजन गरिएको छ।

सङ्घीय सरकार मातहतको धनगढी–दीपायल द्रुतमार्ग निर्माणका लागि ४२ करोड बजेट विनियोजन गरिएको हो। सडक निर्माणका लागि ४३ करोड बजेट विनियोजन गरिएकोमा एक करोड भने चालुतर्फ छुट्याएको छ। योजना कार्यालयले निर्माण कम्पनीलाई २२ करोड तिर्न बाँकी छ।

सङ्घीय सरकारले थप बजेट नपठाएपछि निर्माण कम्पनीलाई काम गरेको भुक्तानी दिन योजना कार्यालयलाई समस्या परेको प्रमुख लक्ष्मण रावलले बताए। ‘चालु आर्थिक वर्षको भुक्तानी दिन बाँकी छ। दुई महिनाअघि बजेट सकिएको हो। फाइल स्वीकृत भएको छैन। असारमा रकमान्तर गर्न नपाइने रहेछ। मन्त्रिपरिषदको निर्णय पर्खेका छौ,’ योजना प्रमुख रावलले भने।

धनगढी–दीपायल–चैनपुर सडक निर्माणका लागि चालु आर्थिक वर्षमा विनियोजन गरिएको २५ करोड खर्च भइसकेको छ। एक सय ८६ किलोमिटरमा ३५ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरिएकोमा २५ करोड खर्च भएको हो। चालु आर्थिक वर्षमा काम भएको २ करोड रुपैयाँ भुक्तानी दिन बाँकी नै छ। योजना प्रमुख रावलले चालु आर्थिक वर्षमा बजेट नभएकाले काममा समस्या भएको बताए।

धनगढी–दीपायल–चैनपुर–उरैभञ्ज्याङ सडकको लम्बाइ एक सय ८६ किलोमिटर छ। धनगढी–दीपायल क्षेत्रमा ३५ किलोमिटर कालोपत्रको काम जारी छ। सडक निर्माण गर्न सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि ४२ करोड बजेट विनियोजन गरेको छ। योजना कार्यालयलाई पुरानो २० करोड रुपैयाँ दाहित्व तिर्न बाँकी छ। आगामी आर्थिक वर्षमा २२ करोड रुपैयाँको काम हुने देखिएको छ।

डोटी र कैलालीमा जारी पुरानो ठेक्का र आगामी आर्थिक वर्षमा नयाँ ठेक्काका लागि २२ करोड रुपैयाँ खर्च हुने भएको छ। धनगढी–स्याउले–हाटखोली १३ दशमलव चार किलोमिटर खण्ड कालोपत्रको काम भने सकिएको छ। हाटखोली क्षेत्रको साढे ६ किलोमिटर सडकमा भने ग्राभेल गर्ने काम मात्र भएको छ।

धनगढी–दीपायल द्रुतमार्ग अन्तर्ग कैलालीमा १३ दशमलव चार र डोटीमा ९ दशमलव चार किलोमिटर गरेर २३ किलोमिटर सडक कालोपत्रका लागि २०७८ वैशाखमा सम्झौता भएको थियो। कैलालीमा थप ७ किलोमिटर र डोटीमा १५ किलोमिटर सडक कालोपत्रका लागि दोस्रो चरणमा ठेक्का भएको थियो। डोटीमा ९ किलोमिटर सडकमा बेस निर्माणको काम पूरा भएको छ।

६ किलोमिटरमा सडक चौडा पार्ने काम हुँदैछ। तर, काम गरेका निर्माण कम्पनीहरूले भने भुक्तानी पाउन सकेका छैनन्। धनगढीको हसनपुरदेखि बझाङको थलारासम्म एक सय ८६ किलोमिटर सडक निर्माण गर्ने योजना छ। तर, बजेट अभावका कारण सडक निर्माणको प्रगति भने न्यून देखिएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस