धनगढीमा विद्यार्थीको सिकाइमा सुधार गर्न नगरप्रमुखबाटै कपि वितरण अभियान
धनगढीः कैलालीको धनगढीमा १७ वटा सामुदायिक विद्यालयहरुले कक्षा ८ को परिक्षामा शून्य नतिजा ल्याए। उपमहानगरभित्रका १७ सामुदायिक विद्यालयहरुले कक्षा ८ को परिक्षामा विद्यार्थी उत्तीर्ण गराउन नसकेपछि व्यापक आलोचना नै भएको थियो।
उपमहानगरपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि विभिन्न छलफल समेत चलाएको थियो। छलफलमा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले विद्यार्थीसँग शैक्षिक सामाग्रीको अभाव हुने गरेको गुनासो गरेका थिए। गत शैक्षिक सत्रमा नगरप्रमुख गोपाल हमालले ९ लाख ९५ हजारका सामाग्री तिवरण गरेका थिए।
नगरप्रमुखले पाउने तलब सुविधाबाट उनले शैक्षिक सामाग्री वितरण गरेका हुन्। नगर प्रमुख हमालले भने, ‘नौ लाख ९५ हजारका कपिहरु कक्षा ८ को परिक्षामा निल भएका विद्यालयहरुका विद्यार्थीलाई वितरण गरेको थिए।’ सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरणपछि परिक्षाफलमा सुधार आएपछि नगरप्रमुख हमालले कपि वितरणको अभियान नै सुरु गरेका छन्।
नगरप्रमुख हमालले आगामी आर्थिक वर्ष २०८१/८२ को तलब–सुविधाबाफतको १० लाख रुपैयाँ सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुको कपि वितरणमा खर्च गर्ने उद्घोष नै गरेका छन्। उनले भने, ‘मलाई प्राप्त हुने तलबबाट १० लाखका कपि वितरण गर्ने निर्णय गरेको छु। कपिको संख्या कम भएको छ। विद्यार्थीको सङ्ख्या धेरै छ।’
सामाजिक क्षेत्रमा तलब–सुविधाको रकम वितरण गर्दै आएका नगरप्रमुख हमालले आगामी आर्थिक वर्षको तलब–सुविधा कपि वितरणमा खर्च गर्ने भएका छन्। उनले विभिन्न संघसंस्था तथा कम्पनीहरुलाई समेत विद्यार्थीको सिकाइमा सुधार गर्ने सो अभियानमा सहयोग गर्न आह्वान गरेका छन्।
विद्यार्थीहरुसँग कपि खरिद गर्न समेत रकम नहुने भन्दै नगरप्रमुख हमालले यसका लागि अभियान नै सञ्चालन गरेका हुन्। उनले भनेका छन्, तपाई पनि ग्रामिण क्षेत्रको शिक्षामा योदान दिन चाहानुहुन्छ भने, ‘सबैलाई हार्दिक अपिल गर्न चाहान्छु। अहिले मलाई प्रप्त हुने रकमबाट कपि खरिद गरेका छौ।’ कपिमा वृक्षारोपण गरि पर्यावरण बचाउन सन्देश, दुव्र्यसनीबाट कसरी बच्ने उपाय, सरसफाइ सम्बन्धी सन्देश समेत राखिएको छ।