सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सञ्चारमन्त्री शर्मा भनिन्, सरकार न्यायको पक्षमा केन्द्रित छ

२०८१ असार ८, ०३:२१ खबर संवाददाता

धनगढीः सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार सूचना प्रविधि दशक अभियानको तयारीमा लागिपरेको बताएकी छन्।

प्रेस सेन्टर कैलालीले शनिबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले सरकारी कार्यदल बनाएर दश वर्षे गुरुयोजना निर्माण गरिने समेत बताएकी छन्। उनले सूचना प्रविधि दशक अभियानले निजी क्षेत्र उत्साहित भएको र सूचना प्रविधिलाई व्यवस्थित बनाउन सकिए अर्बौँ राजस्व भित्र्याउन सकिने बताइन्।

मन्त्री शर्माले मिडिया काउन्सिल ऐन संसदमा रहेको र सामाजिक सञ्जालसम्बन्धी विधेयक, आमसञ्चार विधेयक दर्ता प्रक्रियामा रहेको तथा दूरसञ्चार ऐनको ड्राफ्ट तयार भएको जानकारी दिइन्न्। आमसञ्चारसम्बन्धी सबै विधेयक, कानुन पारित भएमा पत्रकारिता क्षेत्रमा पुनर्संरचना हुने विश्वास व्यक्त गरिन। सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माले सरकारले सुशासन, समृद्धि, सामाजिक न्यायका पक्षमा केन्द्रित भएर काम गरिरहेको बताइन्।

जनताका आशा र अपेक्षालाई सम्बोधन हुने गरी सरकारले राम्रा काम गरिरहेको र त्यसले जनतालाई आशावादी बनाएको उनको भनाई छ। जनअपेक्षा अनुसार समयमै पाठ्यपुस्तक, मलखादको वितरण लगायतका कामलाई सरकारले व्यवस्थित ढङ्गले अघि बढाएको उनको भनाइ छ। यस्तै, ललिता निवास प्रकरण, भुटानी शरणार्थी, सुन काण्ड लगायतमा अडिग भई सरकारले काम गरेको र त्यसले जोसुकै भए पनि सजाएको भागिदार हुन्छ भन्ने स्थापित गरेको छ।

कमेन्ट लोड गर्नुस