रफ्तारमा धनगढी बनाउने ‘हुटहुटी’, यी हुन २ वर्षका नतिजा

वीरेन्द्र भट्ट, धनगढीः कैलालीको धनगढीलाई सुन्दर, सफा र हेर्न लायक सहर बनाउन नगरप्रमुख गोपाल हमालको टीम निकै रफ्तारमा देखिन्छ।
स्वतन्त्रबाट मेयरमा निर्वाचित हमाल नेतृत्वको टीमले २ वर्षको अवधिमा केही आस लाग्दा काम गरेपछि नगरवासीमा थोरै भए पनि उत्साह बढेर गएको छ। जनप्रतिनिधिप्रतिको भरोसा टुट्दै गएको बेला स्वतन्त्रबाट मेयरमा निर्वाचित हमालले भने जनविश्वास बढाउने गरी आफ्नो रफ्तार बढाएका छन्।
स्वास्थ्य, शिक्षा, पूर्वाधार, वातावरण लगायत क्षेत्रमा नयाँ र केही उदाहरणीय काम गरेर मेयर हमाल यतिबेला जनतामाझ हिजोभन्दा अझ बढी लोकप्रिय बन्न सफल भएका छन्। उनमा धनगढी बनाउने हुटहुटी छ। यही हुटहुटीकाबिच केही उदाहरणीय काम गरेर देखाइ समेत सकेका छन्।
६७ हजार वर्गमिटर अतिक्रमित ताल क्षेत्र खाली
धनगढीमा ६७ हजार वर्गमिटरभन्दा बढी ताल क्षेत्रको अतिक्रमण खाली गराइएको छ। धनगढी उपमहानगरपालिकाले हालसम्म ६७ हजार तीन सय ८ वर्गमिटर ताल क्षेत्रमा गरिएको अतिक्रम क्षेत्र खाली गराएको हो। धनगढीमा वडा नम्बर १ देखि वडा नम्बर १९ सम्मै दर्जनौको संख्यामा प्राकृतिक तालहरु भए पनि अधिकांश ताल क्षेत्र अतिक्रमण गरिएको छ। अतिक्रमणमा परेका तालहरुलाई पुरानै अवस्थामा फर्काउन उपमहानगरले नीतिगत रुपमै काम थालेको हो। प्राकृति ताल र खोलानाला कब्जा गरेर निजी प्रयोजनमा उपयोग हुँदै आएको क्षेत्र पुरै खाली गरिने उपमहानगरको नीति छ।
हरियाली धनगढी
धनगढीलाई हरियाली बनाउने काम पनि जारी छ। विभिन्न व्यक्ति तथा संघसंस्थाको सहयोगमा पाँचौ चरणसम्मका कार्यक्रम सञ्चालन गरेर धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रको मिडियन र सडक दायाँबायाँ गरेर ८ हजार ९३२ को संख्यामा वृक्षारोपण गरिएको छ।
ट्री–गार्डसहित लगाइएका बोटविरुवा हुर्कन थालेका छन्। प्रकृति संरक्षणमा उच्च योगदान गरेवाफत डब्लुडब्लु एफ नेपालले हालै मात्र धनगढी उपमहानगरपालिकालाई एक लाख नगद पुरस्कारसहित डब्लुडब्लु एफ नेपाल कन्जरभेसन अवार्ड २०२४ बाट सम्मान समेत गरेको छ।
प्लाष्टिक प्रयोगको विकल्प
धनगढीमा झण्डै एक वर्षदेखि प्लाष्टिकको प्रयोग गर्न निषेध गरिएको छ। धनगढीमा एक वर्षदेखि प्लाष्टिकको प्रयोग गरिएको छैन्। यसको प्रयोग सधाका लागि अन्त्य गर्न उपमहानगरपालिकाले विकल्पहरुको खोजी गर्ने काम पनि गर्दै आएको छ।
प्लाष्टिक प्रयोगको विकल्प खोज्ने कार्यका लागि दुना टपरी बनाउने र फाइबर ब्याग उत्पादन गर्ने सिपमुलक तालिम प्राप्त गरेका १४५ महिला र धनगढी उपमहानगर र नेपाल युथ फाउण्डेसनको सहकार्यमा फूलबारीमा भोकेसनल स्कुल स्थापना गरिएको छ। सो स्कुलबाट तालिम प्राप्त गरेका २४ महिला र ८८ पुरुष गरेर ११२ जनामध्ये २२ महिला र ६३ पुरुष गरी ८५ जना स्वरोजार बनेका छन्।
एयरपोर्ट जस्तो बसपार्क
धनगढीमा आधुनिक र सुविधासम्पन्न बसपार्क बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माण गरिएको छ। उपमहानगरभित्र बढ्दो सवारी चापलाई मध्यनजर गरेर धनगढी–३ को कालिकानगरमा नयाँ बसपार्क बनाउन डिपीआर निर्माण गरेर वातावरणीय अध्ययन स्वीकृतीका लागि सुदूरपश्चिम प्रदेश सरकारमा पेस गरिएको छ। उपमहानगरपालिकाले एयरपोर्ट जस्तै सुविधासम्पन्न आधुनिक बसपार्क बनाउने भएको हो। नगर विकास कोष र धनगढी उपमहानगरको वित्तीय लगानीमा मोहना नदी किनारमा अत्याधुनिक बसपार्क निर्माणका लागि डीपीआर बनिसकेको छ।
नयाँ बन्ने बसपार्क नमूना र उदाहरणीय हुनेछ। बसपार्क २ तलाको हुनेछ। पहिलो तलामा तुरुन्तै जाने यात्रुको प्रतिक्षालय बनाइन्छ। माथिल्लो तला अलि ढिलो जाने यात्रुका लागि बनाइएको हुन्छ। ४ वटा जुन मुख छ, त्यसमा लामो, मध्यम, छोटो र लोकल गरेर डिभाइड गरिएको छ। अलग–अलगको अलग–अलग टर्मिनल हुन्छ। बसपार्कको कूल लागत ९९ करोड ३५ लाख ६० हजार रुपैयाँ रहेको छ।
जसमध्ये ८० प्रतिशत रकम नगर विकास कोषले ८ प्रतिशत व्याजदरमा २५ वर्षसम्मका लागि ऋण लगानी गर्नेछ भने उपमहानगरले २० प्रतिशत लगानी गर्नुपर्नेछ। सम्झौता भएको २ वर्ष निर्माण अवधि राखिएको छ। बसपार्कबाट प्रत्येक वर्ष कम्तीमा १३ करोड ६६ लाख ३५ हजार रुपैयाँ आयआर्जन हुने अनुमान गरिएको छ। वार्षिक आम्दानीबाटै तिरेर ८ वर्षभित्र सबै ऋण चुक्ता हुन्छ। त्यसपछिका वर्षमा बसपार्क नगरको दीर्घकालीन आयस्रोतको रूपमा विकास हुन्छ। शान्ति सामुदायिक वनमा गाभिएको गौचरण क्षेत्रमा बसपार्क बनाउन प्रस्ताव गरिएको छ। ६ लेन सडकबाट बसपार्कसम्म आवतजावतका लागि वैकल्पिक व्यवस्थापन गर्ने योजना समेत छ।
बत्तीको सहर
धनगढीलाई उज्यालो धनगढी बनाउने काम जारी छ। उज्यालो धनगढी कार्यक्रम अन्तर्गत अहिलेसम्म विभिन्न सडकमा गरेर २ सय ८८ पोलमा ५ सय ८८ वटा स्ट्रीट लाइट जडान गरेर बत्ती बाल्ने काम भएको छ। ६ लेन सडक धनगढीमा विभिन्न आकारप्रकारको प्रकाशले दुलही झै झकिझकावट गर्ने काम भएको छ। यसका साथै २८८ पोल तथा १४० ट्री–गार्डहरुमा स्मार्टस्ट्रिट लाइट जडान गरिएको छ। १५ वटा हाइमास्ट जडान गरिनुका साथै प्रवेशद्धार स्वागत गेटमा ६८ वटा फ्लड लाइट जडान गरिएको छ।
अब ‘हर घडी, नगर प्रहरी’
धनगढी उपमहानगरपालिकाले हरपल नगरवासीलाई परेको दुःखमा साथ दिन ‘हर घडी, नगर प्रहरी’ भन्ने अभियान अघि सारेको छ। उपमहानगरिय प्रहरी बललाई साधन स्रोतसहित सुसजित गरेर नगरवासीलाई आवश्यक सहयोग गर्न तत्काल खट्न सक्ने गरी ‘हर घडी, नगर प्रहरी’ अभियानका साथ परिचालन गर्न उपमहानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममै राखेको छ।
विशेषतः नगरप्रहरीले नगरवासीलाई दुःख पर्दा सबैभन्दा बढी साथ दिएको छ। नगर प्रहरीले २३ जना सडक आश्रित व्यक्तिहरुको उद्दार गरेको छ। त्योभन्दा पनि ठूलो काम ७ सयको संख्यामा विभिन्न जातका सर्पको उद्दार गरेर नगरवासीको जीवन बचाउने काम पनि नगर प्रहरीले गरिदिएको छ। उपमहानगरबाट परिचालित नगर प्रहरीले ५९ मृतकको शव चिस्यान व्यवस्थापन गरिएको छ। साथै तीन सय ७ जना मृतकका परिवारलाई प्रतिपरिवार ५ हजारका दरले १५ लाख ३५ हजार रुपैयाँ उपलब्ध गराइएको छ।

