सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ‘हर घडी, नगर प्रहरी’ अभियान

२०८१ असार ८, ११:१९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले हरपल नगरवासीलाई परेको दुःखमा साथ दिन ‘हर घडी, नगर प्रहरी’ भन्ने अभियानका साथ नगर प्रहरी परिचालन गर्ने काम गर्दै आएको छ।

उपमहानगरिय प्रहरी बललाई साधन स्रोतसहित सुसजित गरेर नगरवासीलाई आवश्यक सहयोग गर्न तत्काल खट्न सक्ने गरी ‘हर घडी, नगर प्रहरी’ अभियानका साथ परिचालन गर्न उपमहानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममै राखेको छ।

उपमहानगरबाट सञ्चालन हुने विकास कार्यलाई व्यवस्थित गर्न, विपद व्यवस्थापन एवं अन्य लोककल्याणकारी कार्यमा परिचालन गर्न १६ जना नगर प्रहरीलाई खोज तथा उद्दार तालिम, ११ जना नगर प्रहरीलाई कुरिनटार चितवनबाट समुदायमा आधारित विपद प्रतिकार्य तालिम प्रदान गरिएको छ।
नगर प्रहरीबाट भएका मुख्य काम
धनगढी उपमहानगरपालिकाभित्र कार्यरत नगर प्रहरीले नगरवासीको सेवामा देखिने गरी काम गरेको छ। विशेषतः नगरप्रहरीले नगरवासीलाई दुःख पर्दा सबैभन्दा बढी साथ दिएको छ। नगर प्रहरीले २३ जना सडक आश्रित व्यक्तिहरुको उद्दार गरेको छ।

त्योभन्दा पनि ठूलो काम ७ सयको संख्यामा विभिन्न जातका सर्पको उद्दार गरेर नगरवासीको जीवन बचाउने काम पनि नगर प्रहरीले गरिदिएको छ। नगर प्रहरीले ११ वटा बहुलाह कुकुरको व्यवस्थापन समेत गरेको छ। उपमहानगरबाट परिचालित नगर प्रहरीले ५९ मृतकको शव चिस्यान व्यवस्थापन गरिएको छ।

साथै तीन सय ७ जना मृतकका परिवारलाई प्रतिपरिवार ५ हजारका दरले १५ लाख ३५ हजार रुपैयाँ उपलब्ध गराइएको छ। यसका साथै तीन सय ३१ मृतकलाई उपमहानगरको झण्डा ओडाएर नगर प्रहरीले सलामी दिने काम समेत भएको छ।
पोर्टेबल बुस्टर खरिद
धनगढी उपमहानगरपालिकाले आगलागीबाट उत्पन्न विपदको तत्काल नियन्त्रण तथा उद्दार गर्न दुईवटा फायर बाइक र एउटा पम्पसहितको पोर्टेबल बुस्टर खरिद गरेर सञ्चालनमा ल्याएको छ। जलवायुजन्य विपदबाट उपमहानगरवासीलाई जोगाउन नगर प्रहरीलाई वाटर रेस्क्यु तालिम प्रदान समेत गरिएको छ।

साथै कुल धर्मअनुसार दाहसंस्कारको काम गर्ने आफन्त घरबाट टाढा रही दाहसंस्कार गर्न मृतकको पार्थिब शरीर केही दिन जोगाएर राख्न दुईवटा शव चिस्यान मेसिनमार्फत सेवा प्रदान गर्ने व्यवस्था मिलाइएकोमा अहिलेसम्म ६३ मृतकको पार्थिब शरीरलाई चिस्यान सेवा उपलब्ध गराइएको छ।
 

कमेन्ट लोड गर्नुस