सुदूर नेपाललाई विश्वसँग जोड्दै

कसरी पुग्ने कञ्चनपुरको बतासे झर्ना

२०७६ जेठ १९, १२:०६ जनक विष्ट

अहिले पश्चिम तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा गर्मी अत्याधिक बढेको छ। धनगढीमा त दैनिक ४० देखि ४२ डिग्री सेल्सियस सम्म तापक्रम मापन हुँदै आएको छ। गर्मी अत्याधिक बढ्न थालेपछि विभिन्न नदी खोलामा नुहाउन जाने र पहाडी क्षेत्रमा गर्मी छल्न जानेको संख्या पनि बढ्दै गएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ को धारापानी स्थित चुरेको फेदमा रहेको बतासे झर्ना पनि अहिले गर्मी छल्ने उपयुक्त स्थान बनेको छ। केही समय पहिले मात्र पत्ता लागेको झर्नामा गर्मी छल्न स्थानीय बासिन्दा जाने गरेका छन्। झर्नामा कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रबाट गर्मी छल्न पुगिरहेका छन्।

कसरी पुग्ने बतासे झर्ना 

कैलालीको अत्तरियाबाट पूर्व पश्चिम राजमार्गको यात्रा तय गरेपछि २८ किलोमिटरको दुरीमा पर्छ कञ्चनपुरको झलारी बजार। शुक्लाफाटा नगरपालिका वडा नम्बर १० मा पर्ने झलारीबाट उत्तरतर्फ कालोपत्रे सडक छ। सोही कालोपत्रे सडक भएर बतासे झर्ना जाने बाटो तय हुन्छ। झण्डै डेढ किलोमिटरको कालोपत्रे सडक पार गरेपछि ग्रावेल सडक लाग्छ। केही बेरपछि सिसैया गाउँ आईपुग्छ। सिसैया गाउँ हुदै वडा नम्बर ९ को पारीफाँटा हुदै धारापानी पुग्नसकिन्छ। धारापानी सम्म सडक सुविधा भएकाले सहजै सवारी साधन चल्ने भएपनि धारापानीबाट चुरे पहाडको यात्रा सुरु हुन्छ। झण्डै आधादेखि एक घण्टा पैदल यात्रा गरेपछि आउछ बतासे झर्ना। 

दैनिक चार सय पर्यटक पुग्छन् बतासे झर्ना 

पछिल्लो समय बतासे झर्नामा गर्मी छल्न जानेहरुको घुईचो लाग्ने गरेको छ। कञ्चपुर र कैलालीका विभिन्न स्थानबाट दैनिक सयौँको संख्यामा पर्यटकहरु बतासे झर्ना पुग्ने गरेका छन्। शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ को कार्यालयले बतासे झर्ना आउने पर्यटकको तथ्याङ्क संकलन गर्न सुरु गरिएको जनाएको छ। वडा अध्यक्ष बहादुर सिंह महराले अहिले दैनिक चार सय पर्यटकहरु त्यहाँ पुग्ने गरेको जानकारी दिए।    

झर्ना सम्म ट्रयाक खोलिदै 

छोटो समयमै पर्यटकको रोजाईमा पर्न सफल भएपछि शु्क्लाफाटा नगरपालिकाले बतासे झर्ना सम्म ट्रयाक खोल्ने तयारी गरेको छ। प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत वडा नम्बर ८ को कार्यालयले धारापानीबाट सडक विस्तारको काम सुरु गरेको हो। वडा अध्यक्ष बहादुर सिंह महराले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको पाँच लाख बजेटमा सडक विस्तारको काम सुरु गरिएको बताए।
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस