प्रशासनहरूमा राष्ट्रिय परिचय पत्र बनाउनेको भिड, धनगढीमा गर्मीले एक जना ढले
धनगढी : नेपाल सरकारले आर्थिक वर्ष २०७५/६७ सालबाट राष्ट्रिय परिचय पत्र वितरण गर्दै आएको छ। स्थानीय तहहरूका वडाहरूबाट पनि राष्ट्रिय परिचय पत्र वितरण गरिएको थियो। नेपाली नागरिकता भएकाहरूले पनि परिचय पत्र बनाउन भनिएको छ।
तर, वडा कार्यालयहरूबाट राष्ट्रिय परिचय पत्र नबनाएकाहरू हाल प्रशासन कार्यालयहरूमा पुगेका छन्। सामाजिक सुरक्षा भत्ताका लागि सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि उनीहरू स्थानीय प्रशासनहरूमा पुग्ने गरेका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीकी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले वडाहरूमा पनि कार्यक्रम सञ्चालन गरेको बताइन। उनले भनिन, ‘वडाहरूमा पनि कार्यक्रम सञ्चालन गरिएको हो। नेपालीहरूको चेतना अन्तिम समयमा काम गर्ने छ। राज्यलाई मात्र दोष दिने छ। वडाहरूमा आउनु भएन। राज्यले अनिवार्य गरेपछि भिड बढेको हो। राज्यले २०७५/०७६ सालबाट गर्दै आएको छ।’
जिल्ला प्रशासन कार्यालय धनगढी, इलाका प्रशासन कार्यालय सुखड र टीकापुर तथा गोदावरीबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने काम भइरहेको छ। कैलालीको गर्मीमा सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका वृद्ध–वृद्धाहरू पनि परिचय पत्रका लागि प्रशासन पुग्ने गरेका छन्। जोशीले भनिन्, ‘अपाङ्गता भएका व्यक्ति र अरूको सहयोगमा समेत वृद्धहरू प्रशासन पुग्ने गरेका हुन्। तर, राष्ट्रिय परिचय पत्र विभागले ९० वर्षमाथिका, अपाङ्गता भएका र आफ्नो हेरचाहा आफै गर्न नसक्नेलाई परिचय पत्र अनिवार्य गरेको छैन। सामाजिक सुरक्षा भत्ता लिनेहरूलाई अनिवार्य गरेको हो। तर, पछि ९० वर्ष माथिका, अपाङ्गता भएका र आफ्नो हेरचाहा गर्न नसक्नेलाई पर्दैन भनेको छ।’
जिल्ला प्रशासनमा एक, टीकापुर, सुखड र गोदावरीमा एक÷एक स्टेसन थप गरिएको छ। तीन स्टेसनबाट राष्ट्रिय परिचय पत्र वितरण हुँदै आएकोमा बढाएर नौवटा बनाइएको छ। भिड बढेपछि कर्मचारी र स्टेसन थप गरिएको हो। बिहान ७ देखि साँझ ६ बजेसम्म दुई चरणमा कार्यालय सञ्चालन हुने गरेको छ। तर, कैलालीमा भने बिहान १० बजेपछि राष्ट्रिय परिचय पत्र बनाउनेहरूको भिड बढी हुने गरेको छ। पुनः सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बिहान ७ देखि साँझ ६ बजेसम्म कार्यालय सञ्चालनमा रहेको बताइन्।
नेपाल सरकारले सन २०२४ भित्रमा राष्ट्रिय परिचय पत्र वितरणको काम सक्ने अन्तरराष्ट्रिय स्तरमा प्रतिबद्धता जनाएको छ। सरकारले हाल ७५ वटै जिल्लामा अभियानका रूपमा राष्ट्रिय परिचय पत्र वितरण गर्दै आएको छ। कैलाली प्रशासनमा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या बढ्दै गएको छ।
जिल्ला प्रशासनमा एक जना बेहोस
जिल्ला प्रशासन कार्यालय, धनगढीमा राष्ट्रिय परिचय पत्र बनाउन आएका एक जना बेहोस भएका छन्। जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार उनी गर्मीका कारण ढलेका हुन्। उनको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार हुँदैछ।