गौरीगंगामा ऐन विपरीत १२६ कर्मचारी भर्ना, बाँडियो ३ करोड २६ लाख
धनगढीः कैलालीको गौरीगंगा नगरपालिकाले ऐन वितपरीत कर्मचारी भर्ना गरेको खुलेको छ।
गौरीगंगा नगरपालिकाले १२६ जना कर्मचारी ऐन विपरीत भर्ना गरेको पाइएको हो। महालेखापरीक्षकको कार्यालयलले हालै मात्र सार्वजनिक गरेको प्रतिवेदनमा गौरीगंगा नगरपालिकाले १२६ जना कर्मचारी ऐन विपरीत भर्ना गरेर तीन करोड २६ लाख ९९ हजार पाँच सय १६ रुपैयाँ खर्च गरेको उल्लेख छ।
नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ विपरीत कर्मचारी भर्ना गरेर तीन करोड २६ लाख ९९ हजार बढी भुक्तानी गरेको समेत पाइएको हो। उक्त ऐनले स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरेर संगठन तथा व्यवस्थापन सर्भेक्षणको आधारमा स्थायी प्रकृतिको कामको लागि तथा सेवा करारबाट लिइने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सृजना गर्न नसकिने व्यवस्था गरेको छ।
तर, नगरपालिकाले १२६ जना कर्मचारी भर्ना गरेर राज्यकोषको रकम दुरुपयोग गरेको पाइएको हो। महालेखाले संगठन तथा व्यवस्थापन सर्भेक्षण गरेर कानुन बमोजिम मात्र कर्मचारीको पदपूर्ति गरेर खर्च गर्न भनेको छ। नगरपालिकालाई महालेखाले ज्यालादारीमा कर्मचारी भर्ना गर्ने परिपार्टीसमेत बन्द गर्न भनेको छ।