सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुर नगरपालिकाले किन्यो झण्डै ७ लाखका मोबाइल

साढे २ लाख लगेर उपप्रमुखले गरे अष्ट्रेलिया भ्रमण

२०८१ असार ३, ०६:५९ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुर नगरपालिकाले झण्डै ७ लाखका मोबाइल खरिद गरेको छ।

वडासदस्य र कार्यपालिका सदस्यका लागि टीकापुर नगरपालिकाले ६ लाख ७६ हजार १८४ मूल्यका मोबाइल खरिद गरेको हो। वडा नम्बर ३ को बजेटबाट ३९ हजार चार सय ६९ मुल्यका चारवटा साइकल समेत खरिद गरेको पाइएको छ। २०८० वैशाख ७ गते १७ जना कार्यपालिका सदस्यलाई चार लाख २ हजार ७९३ रुपैयाँको मोबाइल खरिद गरिएको छ।

२०७९ कात्तिक ३ गते स्वास्थ्य बिमा सहयोगीलाई ७५ हजार रुपैयाँको मोबाइल, २०७९ पुस २९ गते वडा नम्बर  ७ का तीन जना वडा सदस्यलाई ५९ हजार १८९ रुपैयाँको मोबाइल, २०७९ फागुन २१ गते वडा नम्बर ३ को बजेटबाट वडा सदस्यलाई ५९ हजार २०३ रुपैयाँको मोबाइल, २०८० जेठ ७ गते वडा नम्बर ३ को बजेटबाट ३९ हजार ४६९ रुपैयाँको साइकल र २०८० जेठ ७ गते वडा नम्बर ४ को बजेटबाट वडासदस्यका लागि ७९ हजार ९९९ रुपैयाँको ४ वटा मोबाइल खरिद गरिएको छ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम १९ मा सार्वजनिक निकायले २० हजार भन्दा बढी रकमको खरिद गर्दा आन्तरिक राजश्व कार्यालयबाट मूल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्र प्राप्त गरेको फर्म वा संस्थाबाट खरिद गर्नुपर्ने व्यवस्था भए पनि नगरपालिकाले दर्ता नभएका फर्मबाट सामाग्री खरिद गरेको हो।

महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख भए अनुसार २०७९ कात्तिक ३ गते तिलक आर्ट्स फ्लेक्स एन्ड प्रिन्टलाई २३ हजार ८८६ रुपैयाँ र २०८० जेठ १६ गते पाण्डेय श्री मल्टी टे«डर्सलाई ९९ हजार रुपैयाँ भुक्तानी गरिएको छ। त्यस्तै प्रतिवेदनले उपप्रमुख खडकबहादुर शाहले अष्टे«लिया भ्रमणमा जाँदा लगेको २ लाख ४३ हजार ८६ रुपैयाँ भ्रमण भत्ता नियम विपरीत भएको औल्याएको छ।

स्थानीय तहका पदाधिकारीको विदेश भ्रमण सम्बन्धी निर्देशिका २०७५ बमोजिम स्थानीय तहका पदाधिकारी विदेश भ्रमणमा जाँदा अर्थ मन्त्रालयको सहमति लिनुपर्नेमा त्यसो नगरेको प्रतिवेदनमा उल्लेख छ। यसका साथै टीकापुर नगरपालिकाले खाना तथा विविध तर्फ ३२ लाख ५३ हजार ११५ रुपैयाँ खर्च गरेको छ। पालिकाले मापदण्ड र कार्यविधि तयार नगरेरै विभिन्न १५३ व्यक्तिहरूलाई १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ। ३ लाख १० हजार रुपैयाँ नगरप्रमुख रामलाल डगौरा थारुको तोकादेशमा भुक्तानी गरिएको छ।

कमेन्ट लोड गर्नुस