सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा निर्माण समाग्री खरिदमा शिक्षा ईकाइको सिण्डिकेट

२०७६ जेठ १८, ०६:२० खबर संवाददाता

सुदूरपश्चिममा निर्माण समाग्री खरिदमा शिक्षा तथा समन्वय इकाईहरुले सिण्डिकेट लगाएको आरोप लागेको छ। प्रत्येक जिल्लामा रहेका शिक्षा तथा समन्वय इकाईले आफूले तोकेको सप्लायर्सबाट मात्र निर्माण समाग्री खरिद गर्नुपर्ने प्रावधान ल्याएपछि सामुदायिक विद्यालयहरु मारमा परेका छन्। उक्त प्रावधानका कारण कतिपय विद्यालयहरुले भवन निर्माणको कार्य समेत अगाडी बढाउन नसकिएको बताएका छन्। शिक्षा विकास तथा समन्वय इकाईले तोकेका सप्लायर्स्हरुले रकम निकासा लिएर पनि निर्माण सामग्री ढुँवानीमा ढिलासुस्ती गरेपछि विद्यालयका भवन निर्माण कार्य अलपत्र परेका हुन्।

डडेल्धुराको आलिताल गाउँपालिका–३ को हरियाली प्राथमिक विद्यालयका अध्यक्ष कर्ण बहादुर बोहोराले विद्यालय भवन निर्माण सामग्रीका लागि हप्ता दिनदेखि धनगढीमै रहेको बताए। शिक्षा विकास तथा समन्वय ईकाईकै निर्देशनमा धनगढीको एक उद्योगसंग खरिद सम्झौता गरेपनि अहिले सम्म निर्माण समाग्री नपुग्दा समस्या भएको उनको भनाई छ। प्रदेश सरकारले दुई कोठे भवन निर्माणका लागि १६ लाख बजेट पठाएको छ। कैलालीको कैलारी गाउँपालिका–६ मा रहेको अपरम्पार आधारभुत विद्यालयका अध्यक्ष अनिल कुमार चौधरीले पनि कर्कट पाताको छानो सहित २ कोठे पक्की भवन निर्माणको लागि प्रदेश सरकारले १६ लाख बजेट विनियोजन गरेको बताए। 

तर शिक्षा विकास तथा समन्वय इकाइका कर्मचारीहरुले धनगढीको घटाल मेटल उद्योगबाटै विद्यालय भवनकका लागि आवश्यक पर्ने समाग्री खरिदको सम्झौता गरेको बताए। तर उद्योगले निर्माण समाग्री उपलब्ध गराउन ढिलाई गरेपछि समस्या भएको उनको गुनासो छ। कैलालीका २२ विद्यालयको सम्झौता समेत घटाल मेटल उद्योगबीच भएको जनाको छ। पेश्की रकम लिएर पनि सो उद्योगले निर्माण सामग्री वितरण नगरेपछि विद्यालय भवन निर्माण अन्योलमा छन्। एउटै उद्योगसंग निर्माण समाग्री खरिदको सम्झौता गरेर शिक्षा विकास तथा समन्वय इकाइका कर्मचारी र उद्योगबीच कमिसनको चलखेल भइरहेको आशंका गरिएको छ।

तर शिक्षा विकास तथा समन्वय इकाइका इन्जीनियर सन्तोष बजगाईले आफुहरु कुनैपनि विद्यालयलाई फलानो उद्योगमै खरिद गर्न दवाव नदिएको जिकिर गरे। आईएसओ प्रमाणित कम्पनीबाट मात्रै सामाग्री खरिद गर्न भन्दै आएको बताउँदै उनले धनगढीको घटाल मेटल उद्योग, मालिका, जगदम्बामा सामग्री उपलब्ध हुने हुुुँदा सामान्य जानकारी मात्रै गराएको दावी गरे। शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मानसिंह बिष्टले आफुले निर्माण सामग्री खरिदबारे अनुसन्धान गर्ने बताए। घटाल मेटल उद्योगका प्रमुख उद्धव बडुले केही व्यवस्थापकीय समस्याले ढँुुवानीमा समस्या हुँदा वितरण गर्न नसकेको बताए। 
 

कमेन्ट लोड गर्नुस