सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लम्कीचुहा नगरपालिकामा औषधि खरिदमा घोटला!

२०८१ असार ३, ११:४८ खबर संवाददाता

धनगढीः कैलालीको लम्की–चुहा नगरपालिकाले औषधि खरिदमा घोटला गरेको छ।

पालिकालाई आवश्यक पर्ने औषधि पालिकाबाटै खरिद गर्नुपर्ने हुन्छ। आवश्यक औषधि खरिद गर्दा तालुक निकायबाट प्राप्त हुने परिमाण यकिन गरेर मात्र वार्षिक आवश्यकताको परिमाण विवरण तयार गरेर पुल सिस्टमको आधारमा आपुर्ति व्यवस्थापन गर्नुपर्छ।

साथै आपुर्ति हुने औषधि र अन्य सामानमा म्याद सकिने मिति, ब्याच नम्बर, उत्पादन कम्पनीको नाम र निःशुल्क वितरणका लागि लगायत सूचना उल्लेख गरेको हुनुपर्छ। यसका साथै आपुर्ति भएका औषधिको म्याद सकिने मिति, भण्डार दाखिला समयदेखि कम्तीमा १८ महिना बाँकी हुनुपर्ने र भण्डारणमा दाखिला गर्दा समेत उल्लेखित सबै विवरण खुलाएको हुनुपर्छ।

तर लम्कीचुहाले १९ लाख ७३ हजार ३७४ मुल्यका औषधि भने उल्लेखित मापदण्ड विपरीत खरिद गरेको फेला परेको छ। आपुर्ति हुने औषधि तथा औषधिजन्य सामग्रीमा उल्लेखित सूचना पूर्ण रुपमा छैन भने औषधिको प्रयोग र मौज्दात समेत यकिन नभएको फेला परेको हो। लम्कीचुहा नगरपालिकाले औषधि खरिद, उपभोग र मौज्दातको अवस्थालाई लत्याएर अव्यवस्थित रुपमा औषधि खरिद गरेको पाइएको छ।

यस्तो कार्यबाट औषधि खरिदमा ठूलो आर्थिक घोटला भएको हुन सक्ने सहजै अनुमान गर्न सकिन्छ। लम्कीचुहाले सुविसु मेडिसिन सप्लायर्स काठमाण्डौंबाट चार लाख ९८ हजार ३७४, लम्बी ड्रग हाउस लम्कीचुहा कैलालीबाट ९ लाख ९३ हजार एक सय दुई र पुनः सुविसु मेडिसिन सप्लायर्स काठमाण्डौंबाट चार लाख ८१ हजार ८९८ रुपैयाँको औषधि खरिद गरेको पाइएको छ। तर सो पालिकाले औषधि खरिद प्रक्रियालाई व्यवस्थित बनाउन चुकेको महालेखा परीक्षकको कार्यालयले हालै मात्र सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ।

कमेन्ट लोड गर्नुस