सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थलको केका लागि अनुगमन

२०७६ जेठ १८, ०४:४७ खबर संवाददाता

बैशाख २२ गतेदेखि धनगढी विमानस्थलमा धावनमार्ग र पार्कीङ क्षेत्र विस्तारको कार्य सुरु भएपछि विभिन्न निकायबाट पटक–पटक अनुगमन भएको छ। तर स्तरबृद्धिमा देखिएको समस्या समाधानका लागि कुनै पनि निकायले पहल नगर्दा जेठ २२ गतेपछि पनि विमानस्थ सुचारु नहुने भएको छ। जेठ २१ गते सम्मका लागि विमानस्थल बन्द गरेर स्तरबृद्धिको कार्य सुरु गरिएकोमा २१ गते भित्रै काम नसकिने भएपछि थप एक हप्ता विमानस्थल बन्द गर्ने तयारी भएको छ। विमानस्थलको बेला–बेला सरोकार राख्ने निकाय र व्यक्तिले अनुगमन गरेपनि स्तरबृद्धिका क्रममा देखिएको समस्या समाधकानका लागि पहल नहुँदा जेठ २२ गतेदेखि नै विमानस्थल सुचारु नहुने भएको हो। 

जेठ २ गते धनगढी उप–महानगरपालिकाका मेयर नृप वड जम्बो टोली लगेर विमानस्थलको अनुगमनमा पुगेका थिए। सो क्रममा विमानस्थल मर्मतका लागि अन्य कुनै समस्या नभएपनि घुमाउरो सडक भएर निर्माण सामाग्री ल्याउदा स्तरबृद्धीमा ढिलाई भईरहेको गुनासो विमानस्थल प्रमुख तेजवहादुर बुढथापा र निर्माण व्यवसायी रत्नवहादुर खड्काले अनुगमन टोली समक्ष राखेका थिए। उनीहरुले खुटिया–धनगढी खण्ड भएर निर्माण सामाग्री ल्याउन दिनुपर्ने माग पनि अनुगमन टोली समक्ष राखेका थिए। अनुगमनका क्रममा मेयर वोडले द्रुतमार्ग भएर निर्माण सामाग्री ल्याउन दिनका लागि आफ्नो तर्फबाट पहल गर्ने आश्वासन समेत दिएका थिए। अनुगमन टोलीमै रहेका कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहन जोशीले पनि विमानस्थल स्तरबृद्धीको कार्यमा कुनै अवरोध आए समन्वय गर्न तयार रहेको दावी गरेका थिए। कैलाली उद्योग वाणिज्य संघका पदाधिकारीहरुको पनि आश्वासन सोही थियो। तर अनुगमनको १६ दिन सम्म समेत निर्माण व्यवसायीले द्रुत मार्ग भएर निर्माण सामाग्री ल्याउन पाएनन् र अहिले आएर विमानस्थल बन्दको अवधी एक हप्ता बढेको छ। 

यस्तै स्तरबृद्धिको कार्य भइरहेको धनगढी विमानस्थलको प्रदेशसभा सदस्यद्वय डाक्टर रणबहादुर रावल, डिल्लीराज पन्त, कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा लगायतको टोलीले अनुगमन गरेको थियो।  अनुगमनका क्रममा निर्माण व्यवसायीका तर्फबाट पुरानै समस्या अनुगमन टोली समक्ष राखिएको थियो। तर विमानस्थल बन्द भएको २६ दिन सम्म छोटो दुरीको सडक प्रयोग गर्न नेताहरुले पहल नै गरेनन्। धनगढी बिमानस्थलको मर्मत कार्यको अवस्था बुझ्न शनिवार पनि धनगढी उप–महानगरपालिकाका प्रमुख वड र कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा उद्योग वाणिज्य संघका पदाधिकारीसंगै विमानस्थल पुगे। अनुगमन टोली समक्ष बिमानस्थलको धावन मार्गमा दलदल भएका कारण स्टीमेट भन्दा बढी काम गर्नुपरेको र स्थानीयले ढुवानीमा अवरोध पु¥याएका कारण निर्धारित  समयमा काम पुरा गर्न नसकिने बताईएको छ। धनगढी उप–महानगरपालिकाका प्रमुख वडले निर्धारीत समय भित्र काम सम्पन्न गर्नका लागि स्थानीय सरकार र स्थानीय प्रशासनले गर्नुपर्ने सहजिकरणका सबै पुरा गरेको दावी गरे। 

मेयर वडले पहिलो पटक अनुगमन गरेपछि स्थानीयलाई द्रुत मार्ग भएर निर्माण सामाग्री ल्याउन दिन आग्रह गरेपनि स्थानीयले नकारीदिएको बुझिएको छ। स्थानीयले मेयर वडलाई विमानस्थल चाहिने तपाईहरुलाई नै हो, हामीले सधै यहि सडक प्रयोग गर्नुपर्छ, सुरुमा धुलो व्यवस्थापन गर्नुहोस अनि मात्रै सडक भएर निर्माण सामाग्री लैजानुहोला भन्दै सडक प्रयोग गर्न असहमती जनाएको बुझिएको छ। पटक–पटक अनुगमन गरेका नेताहरु र स्थानीय प्रशासनका अधिकारीहरुले जम्वो टोली लगेर केहि समय स्तरबृद्धिको कार्यलाई बाधा पुगाएपनि स्तरबृद्धिका क्रममा देखिएका कुनै पनि समस्या समाधान नगरेपछि  अहिले केका लागि अनुगमन भन्ने प्रश्न खडा भएको छ। धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग छ। अव धावनमार्गमा थप कालोपत्रे गरिने छ भने जिर्ण बनेको क्षेत्रमा मर्मत भईरहेको छ। दुवैतर्फ २/२ मिटर धावनमार्ग फराकिलो बनाउने योजना समेत रहेको छ।

कमेन्ट लोड गर्नुस