सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा प्रादेशिक सडक निर्माणको काम सुस्त गतिमा

२०८१ असार १, ०३:४१ कमल सावद

धनगढीः सुदूरपश्चिम प्रादेशिक गौरवका सडकको प्रगति न्यून देखिएको छ।

प्रदेश सरकारले २०७६ सालदेखि नौवटा सडक प्रादेशिक गौरवका रुपमा निर्माण थालेको थियो। तर, सडक निर्माण थालिएको पाँच वर्ष बितिसक्दा पनि प्रगति न्युन देखिएको हो। महालेखापरीक्षकको कार्यालयले प्रादेशिक गौरवका सडकको प्रगति न्यून देखिएकाले तीव्रता दिन भनेको छ।

जग्गाको मुआब्जा, क्षतिपूर्ति, बस्ती हस्तान्तरण तथा पुनर्वासको कार्यमा उचित निर्णय नहुँनु, आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन नहुनु, वन क्षेत्र, सडकको पहुँच लगायत पूर्वाधार व्यवस्थापनमा ढिलाई हुनु, स्रोतको व्यवस्थापन नभएका कारण सडक निर्माणमा ढिलाइ भएको प्रतिवेदमा उल्लेख छ। प्रादेशिक गौरवको खप्तड–मार्तडी सडक निर्माणको भौतिक प्रगति ३८ प्रतिशत देखिएको छ।

२०७६ सालबाट सुरु गरेको खप्तड–मातडी सडकको लागत ९७ करोड ३७ लाख थियो। तर चार करोड ४६ लाख मात्र खर्च भएको छ। २०८० सालभित्र खप्तड–मार्तडी सडक निर्माणको काम सक्ने लक्ष्य निर्धारण गरिएको छ। एक अर्ब ६६ करोड ९० लाख लागत अनुमान रहेको सतवाज–श्रीभावर–हाट–दार्चुला सडक निर्माणमा ४६ करोड ९ लाख खर्च गरेको छ। प्रदेश सरकारले उक्त सडक निर्माणको ४१ दशमलव ५५ प्रतिशत काम पूरा गरेको छ।

२०८३ सालभित्र सतवाज–श्रीभावर–हाट–दार्चुला सडक निर्माणको  काम पूरा गर्ने लक्ष्य छ। त्यस्तै चिसापानी–ऋषिदह–बडिमालीका सडक निर्माणका लागि १७ करोड ७६ लाख लागत अनुमान छ। सो सडक निर्माणमा अहिलेसम्म १५ करोड ६८ लाख रुपैयाँ खर्च भएको छ। यो २९ प्रतिशत मात्र प्रगति हो। एक अर्ब ७५ करोड ९५ लाख लागतको दैजी–पोखरा–ढुङ्गाड–बझाङ सडकलाई समेत प्रावेशिक गौरवको सडकमा समावेश गरिएको छ।

प्रदेश सरकारले २०७६ सालबाट निर्माण थालेको उक्त सडक २०८२ मा निर्माण पूरा गर्ने लक्ष्य लिएको छ। ४१ करोड ८० लाख खर्चेर ४० प्रतिशत भौतिक प्रगति देखिएको छ। खलङ्गा–खार–देथला–पारीबगर–खण्डेश्वरी सडक निर्माणको ७५ दशमलव २८ प्रतिशत काम सकिएको छ। एक अर्ब चार करोड ८३ लाख लागत अनुमान रहेको सडक निर्माणमा १० करोड ५७ लाख खर्च भएको छ।

२०७६ सालबाट निर्माण सुरु भएको उक्त सडकको काम २०८१ सालभित्र पूरा हुने लक्ष्य छ। तर, लक्ष्यअनुसार काम हुन सकेको छैन्। दीपायल–साइपाल सडक निर्माणका लागि ३२ करोड ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। उक्त सडक निर्माणका लागि १२ करोड ८६ लाख रुपैयाँ खर्च भएको छ। दीपायल–साइपाल प्रादेशिक गौरवको सडक निर्माणको काम २०८१ मा सक्ने लक्ष्य थियो।

सहजपुर–बोगटान–दीपायल सडकको भौतिक प्रगति ६३ प्रतिशत पूरा भएको छ। एक अर्ब ३६ करोड २५ लाख रुपैयाँ लागत अनुमान रहेको बोगटान–दीपायल सडकमा ५१ करोड ७५ लाख रुपैयाँ खर्च भएको छ। २०८२ सालसम्म सहजपुर–बोगटान–दीपायल सडक निर्माणको काम सक्ने योजनामा सुदूरपश्चिम सरकार छ। बेलौरी–कलुवापुर–नायल–बुडर सडक निर्माणका लागि २५ करोड ७६ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको थियो।

उक्त सडकमा चार करोड १८ लाख खर्च भइसकेको छ। २०७७/७८ बाट निर्माण सुरु भएको बेलौरी–कलुवापुर–नायल–बुडर सडकको भौतिक प्रगति ३३ प्रतिशत देखिएको छ। प्रदेश सरकारले २०८१ सालभित्र उक्त सडक निर्माणको काम सक्ने लक्ष्य लिएको थियो। सबैभन्दा बढी भौतिक प्रगति भजनी छोटी भन्सार–खेमडी–ठुलीगाड सडकको भएको छ। उक्त सडक निर्माणमा ८० प्रतिशत काम भएको छ। १३ करोड ८१ लाख खर्चको अनुमान रहेको भजनी–ठुलीगाड सडकमा ६ करोड ८९ लाख खर्च भएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस