सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको कृष्णपुरका ‘हरिराम’ले तरकारी बिक्रीबाटै बनाए अत्तरियामा घर

२०८१ असार १, ११:५८ कमल सावद

धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका हरिराम डगौरा २०५२ सालअघि राज मिस्त्री थिए। उनी घर निर्माण गर्ने काम गर्दै आएका थिए।

गाउँमा काठको काम पनि उनले गरे। २०५८ सालपछि भने उनको पेसा फेरिएको छ। २०५१÷५२ सालतिर तरकारी खेतीका लागि तालिम लिएका हरिराम हाल व्यवसायीक रुपमा तरकारी खेती गर्दै आएका छन्। उनले ३० कठ्ठा  क्षेत्रफलमा तरकारी खेती गरेका छन्।

परिवारका सबै सदस्य तरकारी खेतीमा संलग्न छन्। उनले भने, ‘हामीले व्यवसायीक तरकारी खेती गर्दै आएका छौ। ज्यालामा कामदार पनि राख्छौ। सिजन अनुसार कामदारको संख्या हुन्छ।’ कृष्णपुर नगरपालिका–६ को बालुवाफाँटामा सबैभन्दा पहिला व्यवसायीक रुपमा तरकारी खेती हरिराम डगौराले सुरुवात गरेका थिए। उनले २० कठ्ठा क्षेत्रफलमा खेती गर्न जमिनसमेत खरिद गरेका छन्।

कैलालीको अत्तरिया बजारमा घरसहितको घडेरी जोडेका छन्। अत्तरिया बजारमा उनले तरकारी बिक्रीबाट घडेरी जोडेका हुन्। मौसम अनुसारको तरकारी खेती गर्दै आएका डगौराको बारीमा हाल करेला, चिचिन्डा, लौका, काक्रो, बोडी लागयत तरकारी छन्। अन्य समयमा ठुलो क्षेत्रफलमा तरकारी खेती गर्दै आएका उनले हाल ३० कठ्ठामा तरकारी खेती गरेका छन्। उनले भने, ‘अहिले ३० कट्ठामा तरकारी खेती गरिएको छ।

बर्खाको समयमा धेरैमा हुन्छ। तरकारी बिक्रीबाट एक बिघा जग्गा र अत्तरियामा २२ लाखको जग्गा किनेको छु। अत्तरियामा घर भाडामा दिएका छौ।’ डगौराजस्तै कृष्णपुरमा व्यवसायीक रुपमा तरकारी खेती गर्नेको संख्या धेरै छ। अत्तरियासहित पहाडी जिल्ला, महेन्द्रनगर र काठमाडाँैसम्म कृष्णपुरमा उत्पादित तरकारी बिक्री हुने गरेको छ।

व्यापारीहरु किसानको बारीमै तरकारी खरिद गर्न पुग्ने गरेका छन्। तर, नगरपालिका क्षेत्रमा तरकारी बिक्रीका लागि हाटबजार भने छैन। बालुवाफाँटाका सबैभन्दा बढी तरकारी खेती गरिँदै आएको छ। तर हाट बजार नहुँदा किसानले आफ्नो उत्पादन विक्री गर्न अत्तरिया पुग्नुपर्ने बाध्यता छ।

यता, कृष्णपुर नगरपालिकाकी उप–प्रमुख द्रोपती रानाले हाटबजार नभएकाले किसानलाई समस्या हुने गरेको बताइन्। उनले नगरपालिकाले हाटबजार सञ्चालनको तयारी गरिरहेको बताएकी छन्। कृष्णपुर नगरपालिकाले किसानलाई आवश्यक तालिम लगायमा भने सहयोग गर्दै आएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस