सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका ग्रामीण सडकमा यसरी हुईकिन्छन् जीप

फोटो  :पत्रकार केशव भट्टराई
फोटो :पत्रकार केशव भट्टराई
२०७६ जेठ १८, ११:४९ खबर संवाददाता

फोटोमा देखिएको दृष्य कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बन्दागडाको हो। से १ ज २५४ नम्बरको जीपले छतमा समेत यात्रुहरु कोचाकोच हालेको दृष्य प्रस्ट देखिन्छ। सुदूरपश्चिम प्रदेशको राजधानी घोषणा गरिएको अत्तरिया क्षेत्रबाट झण्डै १४ किलोमिटरको दुरीमा पर्ने बन्दगडा सडक खण्डमा चल्ने यो जीप त प्रतिनिधीमुलक उदाहरण मात्रै हो। तर उक्त सडक खण्डमा चल्ने सबैजसो सार्वजनिक सवारी साधनले क्षमता भन्दा बढि यात्रु बोक्दै आएको स्थानीय बताउछन्।

कतिपय गाडीहरुले त अत्तरियाबाटै सिट क्षमता भन्दा दोब्बर तेब्बर यात्रु ओसार्दै आएका छन्। तर ग्रामीण क्षेत्रमा चल्ने सवारी साधनमाथि प्रहरीले निगरानी नगर्ने गरेको कुरा समेत बन्दगडा सडकमा चल्ने गाडीले प्रष्ट पारिदिएका छन्।  जिल्लाका अन्य ग्रामीण कच्ची सडकमा पनि  यसरी नै क्षमता भन्दा दोब्बर तेब्बर यात्रु बोक्ने गरेका छन्। शहरका चोक–चोक र हाईवे मात्र केन्द्रीत भएको ट्राफिक प्रहरीले निगरानी नबढाउदा ग्रामीण क्षेत्रमा यातायात व्यवसायीहरुले मनोमानी गर्दै आएको आरोप पनि लाग्दै आएको छ।

प्रहरीले समेत कमिशनको चलखेलमा क्षमता भन्दा बढि यात्रु बोक्ने गाडीहरु नदेखेझै गर्ने गरेको कतिपयले बताउदै आएका छन्। क्षमता भन्दा बढि यात्रु बोक्ने गाडीहरुलाई नियन्त्रण नगर्ने प्रहरीले दुर्घटना भएमा भने चालकको लापरवाही देखाउदै पन्छीने गरेको छ। तर प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले उक्त आरोप अस्वीकार गर्दै आएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक केदार रजौलेले पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि निगरानी बढाएको दावी गर्छन्। उनले केही समय अगाडी बैतडीमा सुरु गरिएको जीपको छत हटाउने अभियान कैलालीमा पनि जारी रहेको बताए। तर आफूहरुको नजरमा नपरेका जीपहरुले त्यसरी यात्रु ओसार्ने गरेको दावी उनी गर्छन्। 

कमेन्ट लोड गर्नुस