सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको ६ लेन सडकमा तीन किलोमिटर नाली निर्माण गर्न ठेक्का हुँदै

२०८१ जेठ ३०, ०७:१३ कमल सावद

धनगढी : कैलालीस्थित धनगढीको ६ लेन सडकमा २ मिटर गहिरो र २ मिटर चौडा नाली निर्माण गर्न सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। सङ्घीय सहरी विकास मन्त्रालय मातहतको सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई, धनगढीले तीन किलोमिटर नाली निर्माण गर्न सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको हो।

धनगढी ट्राफिक चौराहदेखि मोहना नदीसम्मको ६ लेन सडकको बुदै क्षेत्रमा नाली निर्माणका लागि बोलपत्रको प्रक्रिया थालिएको छ। सङ्घीय आयोजना कार्यान्वयन इकाई, धनगढीका इन्जिनियर सौरभ कलौनीले ठेक्का सम्झौताका लागि प्राविधिक मूल्याङ्कनको काम पूरा भएको बताए। आर्थिक मूल्याङ्कनको काम जारी रहेको उनले बताएका छन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर २, ३ र १३ को डुबान समस्या समाधानका लागि मोहनापुल–अत्तरिया ६ लेन सडकको दुबै क्षेत्रमा नाली निर्माण गर्न ठेक्का हुने भएको हो। नालीमा सडक तथा बस्तीबाट आएको बर्सातको पानी बग्ने छ। सम्झौताको ३० महिनामा निर्माण कम्पनीले ढक्कनसहितको नाली निर्माणको काम सक्नेछन्। मोहनापुल–अत्तरिया ६ लेन सडकको पश्चिम क्षेत्रमा १२ करोड र पूर्व क्षेत्रमा ११ करोड गरेर २ प्याकेजमा नाली निर्माणका लागि ठेक्काको प्रक्रिया थालिएको हो। तर, सम्झौता हुन बाँकी रहेको छ। असार ५ गतेसम्म आर्थिक मूल्याङ्कनको काम पूरा हुने दाबी गरिएको छ।

आर्थिक मूल्याङ्कनको काम पूरा भएपछि सात दिन भित्र सम्झौताका लागि आशयको पत्र निर्माण कम्पनीलाई पठाइने छ। निर्माण कम्पनीसँग सम्झौता भएको ३० महिनामा ६ लेन सडकको सर्भिस लेनको मुनीबाट २ मिटर गहिरो र २ मिटर चौडा नाली निर्माण हुने छ। ढक्कनसहितको नाली निर्माण हुने भएकाले उक्त क्षेत्रमा यातायातका साधनसमेत सञ्चालन गर्न सकिने छ। एक हजार ६ सय मिटर लामो एक र एक हजार चार सय मिटरको अर्काे गरेर सडकको दुबै क्षेत्रमा तीन किलोमिटर नाली निर्माण गरिने भएको हो।

चालु आर्थिक वर्षमा नाली निर्माणका लागि १७ करोड बजेट रहेको थियो। तर, सम्झौता नभएकाले बजेट फिर्ता पठाइएको छ। चालु आर्थिक वर्षमा बहुवर्षीय ठेक्का सम्झौताका लागि तीन करोड मात्र बजेट रहेको छ। सङ्घीय सरकारले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको छ। मोहनापुल–अत्तरिया ६ लेन सडकको पश्चिम क्षेत्रमा नाली निर्माण अर्थात् धनगढी–३ र १३ को डुबान समस्या समाधान गर्न तीन करोड ८० लाख विनियोजन गरिएको छ। मोहनापुल–अत्तरिया ६ लेन सडकको पूर्वी क्षेत्रको नाली निर्माण अर्थात् धनगढी–२,३ र १३ को डुबान समस्या समाधानका लागि आगामी आर्थिक वर्षमा एक करोड ५२ लाख रुपैयाँ विनियोजन गरिएको छ। बहुवर्षीय आयोजना रहेकाले बजेटको अभाव नहुने तर्क गरिएको छ।

मोहनापुल–अत्तरिया ६ लेन सडकका कारण धनगढीको पश्चिमी क्षेत्रमा डुबान हुँदै आएको तर्क धनगढी उपमहानगरपालिकाको छ। धनगढीको पश्चिमी क्षेत्रको डुबान समस्या समाधान गर्न सडक क्षेत्रको दुबैतिर नाली निर्माणका लागि धनगढी उपमहानगरपालिकाले विस्तृत योजना प्रतिवेदन (डिपीआर) निर्माण गरेको थियो। धनगढी उपमहानगरपालिकाको डिपीआर अनुसार सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाईले नाली निर्माणका लागि ठेक्का सम्झौता गर्दैछ। तर, मोहनापुल–अत्तरिया ६ लेन सडकको सबै क्षेत्रमा नाली निर्माण भने नहुने भएको छ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस