सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादीभित्र आपसमै जलन, ५ सांसदको चलेन कुनै सिप

२०८१ जेठ २९, ०२:२२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सभामा नेकपा माओवादी केन्द्रबाट सभामुखसहित ११ जना प्रदेश सभा सदस्य छन्। तर उनीहरुबिच नै एक आपसमा मिलन भने छैन्।

मन्त्री बन्ने लाइनमा उभिएकाहरु अन्तिममा बन्ने अवस्था नभएपछि शपथग्रह रोक्न मुख्यमन्त्रीलाई पत्राचार गर्नेदेखि फेसबुकमा हिरोको इन्ट्री अन्तिममा हुन्छ भन्नेसम्मका धम्की सार्वजनिक भएका छन्। माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य शिवसिंह ओलीले त हिरोले लास्टमा लेखाउनेसम्मकै धम्की दिएका छन्।

सोमबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गर्दै आर्थिक मामिला मन्त्रीमा एमालेका सुरेन्द्रबहादुर पाल, सामाजिक विकास मन्त्रीमा नेकपा माओवादी केन्द्रका ओमबिक्रम भाट (सरल) सहित पाँच जना बिनाविभागीय मन्त्री नियुक्त गरेका थिए। सोडारीले एमालेका वीरबहादुर थापा, हीरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी विक र एकीकृत समाजवादीकी माया पन्तलाई मन्त्री नियुक्त गरेका हुन्। तर मन्त्रालय भने तोकिएको छैन।

सोही विषयलाई लिएर माओवादीबाट मन्त्री बनेकाहरुलाई वलीले हिरोले लास्टमा देखाउने चेतावनी दिएका छन्। माओवादीबाट सुदूरपश्चिम सरकारमा मन्त्री बनेकाबारे पार्टीभित्रै विवाद उत्पन्न भएको छ। संसदीय दलभित्र कुनै सल्लाह नगरेर मन्त्री सिफारिस गरेको भन्दै तत्काल मन्त्री नियुक्त नगर्न पाँच सांसदले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए।

तर ध्यानाकर्षण पत्रको बेवास्ता गर्दै मुख्यमन्त्रीले मन्त्रीमा नियुक्तसँगै शपथग्रहण समेत गराइसकेका छन्। माओवादीबाट सांसद खगराज भट्ट, झपट साउद, शिव ओली, रमेश धामी र जानकी कुँवर पौडेलले संयुक्तरूपमा ध्यानाकर्षण बुझाएका थिए।
कारबाही गर्ने चेतावनी
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता मानबहादुर धामीलाई कारबाही  हुने भएको छ। संसदीय दलमा निर्णय नै नगरी सरकारमा मन्त्री नियुक्तिका लागि सिफारिस गरेको भन्दै संसदीय दलका नेता धामीलाई अनुशासनको कारबाही गर्ने सोही दलका सदस्यहरुले बताएका छन्।

संसदीय दलको बैठकमा छलफल र निर्णय नै नगरी मन्त्री नियुक्तिको सिफारिस गरिएको संसदीय दलका पाँच जना सदस्यको यसमा गम्भीर असहमती रहेको माओवादी केन्द्र संसदीय दलका सदस्य शिवसिंह ओलीले बताए। एकलौटी र आफूखुशी सिफारिस गर्ने संसदीय दलका नेता धामीमाथि अनुशासनको कारबाही हुने दाबी गरिएको छ। कारबाहीका लागि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र प्रदेश इञ्चार्ज गिरिराजमणी पोखरेललाई आग्रह समेत गरिएको छ। माओवादी केन्द्रका तर्फबाट ओम बिक्रम भाट सरल, अक्कल रावल र लक्ष्मी विकले सोमवार मन्त्रीको शपथ खाएका छन्।

कमेन्ट लोड गर्नुस