सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेयर हमालले भने, ‘रोजगार मेलाको भिडले व्याप्त बेरोजगारीको चित्रण गर्छ’

२०८१ जेठ २७, ०६:२० कमल सावद

धनगढीः कैलालीको धनगढीमा दुई दिनसम्म श्रमाधान रोजगार मेला सञ्चालन हुनेछ।

रोजगारदाता र रोजगारी आवश्यक परेकाहरु मेलामा छन्। रोजगार मेलाको उद्घाटन गरिएको पहिलो दिन मात्र ठूलो संख्यामा रोजगारी आवश्यक परेकाहरुले आफ्नो नाम दर्ता गरेका छन्। मेलामा रोजगारीका लागि फर्म भरेका सबैले रोजगारी पाउने अवस्था भने छैन्। सुदूरपश्चिममा रहेको व्याप्त बेरोजगारी धनगढीमा आयोजना गरिएको रोजगार मेलाले देखाएको छ।

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सुदूरपश्चिममा व्याप्त बेरोजगारी रहेको बताए। उनले भने, ‘हामी तीनै तहको सरकार यहाँ छौ। यो भिडले अबको आवश्यक्ता देखाएको छ। अबको युवालाई रोजगारी चाहियो। अबको युवालाई सिप चाहियो।’
सुदूरपश्चिम प्रदेशका नागरिक रोजगारीको खोजीमा भारतका विभिन्न क्षेत्रमा जाने गरेका छन्। केही युवाहरु तेस्रो मुलुकमा समेत रोजगारीका लागि जाने गरेका छन्।

दैनिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदेश जाने युवाहरुको भिड हुने गरेको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको जस्तै भिड आइतवार धनगढीमा देखिएको हो। रोजगारीको अपेक्षासहित ठूलो संख्यामा युवाहरु मेलामा पुगेका छन्। रोजगार मेलाले सुदूरपश्चिममा व्याप्त बेरोजगारीको चित्रण गरेको छ।

सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री टीका थापाले कृषिमा शुन्य प्रतिशत व्याजमा ऋण दिने गरेको बताइन्। उनले भनिन्, ‘मार्गदर्शन छ। किसानलाई परिचयपत्र पनि दिएका छौ। विदेशबार फर्किएका युवालाई शुन्य व्याजमा ऋण पनि दिएका छौ।’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले धनगढीमा आयोजना गरेको श्रमाधान रोजगार मेलामा केही निजी कम्पनीहरुले युवाहरुलाई रोजगारीको अवसर दिएका छन्।

तर, सुदूरपश्चिमका स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले रोजगारीका अवसरहरु सृजना गर्न नसकेको गुनासो गरिएको छ। तीन तहका सरकारहरुले युवाहरुलाई दक्षसमेत बनाउन नसकेको तर्क गरिएको छ। तर सुदूरपश्चिममा रोजगारीका लागि औद्योगिक क्षेत्र स्थापनाको चरणमा रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले दाबी गरेका छन्। उनले भने, ‘संस्थानहरु थन्काइएको छ। हामी कानुन संसोधन गरेर सञ्चालनको तयारीमा छौ। सुदूरपश्चिममा पनि सम्भावनाहरु छन्।’ सुदूरपश्चिममा एउटै गतिलो उद्योग नभएका कारण पनि बेरोजगारी समस्या बर्षेनि बढ्दै गएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस