सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको विद्युत उत्पादन एक तिहाइले घट्यो, कारण यस्तो छ

२०८१ जेठ २७, ०९:४९ नारायण अवस्थी

धनगढीः सुक्खायामका कारण नदीहरूमा जलस्तर घट्दा सुदूरपश्चिममा विद्युत उत्पादन घटेको छ। सुक्खायाम सुरू भएसँगै प्रदेशभर कुल उत्पादन क्षमताको एक तिहाइ मात्र विद्युत उत्पादन भइरहेको छ।

विद्युत गृहमा पानीको बहाव घट्दा विद्युत उत्पादन प्रभावित भएका बेला माग भने तीन गुणाले बढेको छ। सुदूरपश्चिम प्रदेशभर हिउँदमा करिब ३० मेगावाट विद्युत खपत हुने गरेकोमा अहिले भने दैनिक ८५ देखि ९० मेगावाट खपत भइरहेको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका निर्देशक जङ्गबहादुर चन्दले बताए।

सुदूरपश्चिमबाट १० वटा जलविद्युत आयोजनाबाट उत्पादित उर्जा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। दार्चुलाको अपर चमेलिया, चमेलिया, नौगाड–१ र नौगाड–२ तथा मकरीगाड जलविद्युत आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। यस्तै, बझाङमा कालङ्गा, बुङ्गल, सानीगाडसहित चारवटा जलविद्युत आयोजना सञ्चालित छन्। यसैगरी डोटीमा ३ मेगावाट क्षमताको सालमुनीगाड जलविद्युत योजना सञ्चालनमा छ।

सुदूरपश्चिममा हाल सञ्चालनमा रहेका विद्युत आयोजनाको उत्पादन क्षमता १६४ मेगावाट भए पनि सुक्खायामका कारण नदीमा पानी घट्दा एक तिहाइ उर्जा मात्रै उत्पादन भइरहेको चन्दले बताए। ‘सुदूरपश्चिममा जलविद्युत आयोजनाबाट यो समयमा करिब ६८ मेगावाट उर्जा उत्पादन भइरहेको छ। हाम्रो राष्ट्रिय प्रसारणमा जडित कुल उत्पादन क्षमता भने १६४ मेगावाट हो’, प्रादेशिक निर्देशक चन्दले भने।
कुन आयोजनाको उत्पादन क्षमता कति?
४० मेगावाटको माथिल्लो चमेलियाबाट दैनिक २० मेगावाट, ३० मेगावाट क्षमताको चमेलियाबाट दैनिक १५ मेगावाट, नौगाड पहिलो र दोस्रोको क्षमता १६ मेगावाट भए पनि अहिले केबल २ मेगावाट मात्रै उत्पादन भइरहेको छ। यस्तै, दार्चुलाको मकरीगाड जलविद्युतको क्षमता १० मेगावाट भए पनि ५ मेगावाट मात्रै उत्पादन भइरहेको छ।

बझाङको कालङ्गा, सानीगाड र बुङ्गल जलविद्युत आयोजनाको क्षमता ६४ मेगावाट रहेकोमा अहिले २२ मेगावाट मात्रै उत्पादन भइरहेको छ। सुदूरपश्चिममा दैनिक ५० मेगावाट बिजुली टनकपुरबाट आउने गरेको छ। हिउँदको भन्दा गर्मीयाममा सुदूरपश्चिममा तीन गुणा बढी विद्युत खपत हुने गरेको चन्दले बताए। ‘हिउँदमा दैनिक करिब ३० मेगावाट विद्युत खपत हुने गरेको छ भने गर्मीयाममा त्यसको तीन–चार गुणा माग बढ्ने गरेको छ’, उनले भने, ‘जलविद्युत आयोजनाको उत्पादन क्षमता घटे पनि विद्युत आपूर्तिमा भने समस्या छैन।’
कहाँ कति विद्युत खपत?
गर्मीमा सुदूरपश्चिमको विद्युत माग बढेर दैनिक ९० मेगावाट पुगेको छ। प्रदेशमा दैनिक विद्युतको माग हरेक वर्ष बढ्ने गरेको छ। हाल धनगढी क्षेत्रमा दैनिक २० मेगावाट, महेन्द्रनगर बजार क्षेत्रमा दैनिक १५ मेगावाट र अत्तरियामा १० मेगावाट विद्युत खपत हुने गरेको छ। टीकापुर क्षेत्रमा दैनिक १५ मेगावाट, पहलमनपुर–भजनी क्षेत्रमा १० मेगावाट विद्युत खपत हुने गरेको छ।

कञ्चनपुरको झलारी र दोधारा–चाँदनी क्षेत्रमा १० मेगावाट, बेलौरी–पुनर्वास क्षेत्रमा दैनिक १० मेगावाट र पहाडी जिल्लाहरूमा दैनिक ६ मेगावाट बिजुली खपत हुने गरेको छ। सुदूरपश्चिममा गर्मीयाममा दैनिक ८५ देखि ९० मेगावाट बिजुली खपत हुने गरेको छ। जुन कुल उत्पादनभन्दा कम हो।

सुदूरपश्चिममा खपत नभएको बिजुली राष्ट्रिय प्रसारण लाइनबाट कोहलपुर सुर्खेत पठाइने गरेको प्रादेशिक निर्देशक चन्दले बताए। सुक्खायाममा समेत टनकपुरबाट आउने ५० मेगावाट विद्युतका कारण दैनिक ११८ मेगावाट बिजुली आपूर्ति भइरहेको उनले बताए। यहाँको आवश्यकताभन्दा बढी भएको बिजुली भने राष्ट्रिय प्रसारण लाइनमार्फत कोहलपुर पठाइने गरेको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस