कञ्चनपुरमा प्रहरीकै संरक्षणमा कैदी र नाइकेको मस्ती

धनगढीः कञ्चनपुरमा प्रहरीकै संरक्षणमा जेल परेका कैदी र कैदीका नाइकेले मस्ती गर्ने गरेको विषय बाहिर आएको छ।
कारागारभित्र कैद गरिएका तर पावरवाला कैदी र नाइके निर्वाध रुपमा होटलमा पसेर मदिरा सेवन गरिरहेको अवस्थामा प्रहरीले नै नियन्त्रणमा लिनुले कारागार कञ्चनपुर कति सुरक्षित छ भन्ने विषयलाई प्रमाणित गरिदिएको छ। कैदीका नाइके र कैदी मात्र नभएर प्रहरी हवल्दारसँगै कर्मचारी समेत कानुनलाई चुनौति दिएर बाहिर आउनु र त्यसमाथि निर्वाध रुपमा मदिरा सेवन गर्नुले पनि कारागार प्रशासनको लापरबाहीलाई अझ उदाङ्गो बनाइदिएको छ।
कारागारभित्र पनि पहुँचवालाकै शक्ति प्रदर्शन हुने गरेको विषय विहिबार घटेको एउटा घटनाले प्रमाणित गरिदिएको छ। कञ्चनपुर प्रहरीले होटलबाट दुई कैदीबन्दीसहित चार जना पक्राउ परेको घटनाको अनुसन्धान थालेको छ। कैदीका नाइके नै बाहिर निस्केर मदिरा सेवन गरेको विषयमा अनुसन्धान भइरहेको छ। अहिले प्रहरीले कारागारसँग समेत समन्वय गरेर अनुसन्धान अघि बढाएको छ।

प्रहरीले होटलबाट कैदी ज्ञानबहादुर चन्द, कैदीका नाइके भुवन थापा, प्रहरी हवल्दार रामसिंह धामी र कारागारका खरिदार जीवन पन्तसहितलाई मदिरा सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको हो। उनीहरू होटलमा भेटिएका थिए। अहिले सो विषयमा छानबिन अघि बढाइएको छ।
प्रहरी हवल्दार रामसिंह धामीलाई भने निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। ती प्रहरी हवल्दारले व्यवसायिक अनुशासन कायम नराखेको र गम्भीर त्रुटि गरेको भन्दै कारबाही गरिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले हवल्दार धामीलाई गैरजिम्मेवार र गैरव्यवसायिक काम गरेको भन्दै ६ महिनाका लागि निलम्बन गरिएको बताए।
घटनाको विषयमा विस्तृत छानबिनसमेत भइरहेको छ। कैदीका नाइकेसहित प्रहरी र कर्मचारी जेलबाहिर निस्केर मदिरा सेवन गरेको विषयमा अहिले अनुसन्धान भइरहेको छ। एसपी जोशीका अनुसार प्रहरी हवल्दार धामीलाई ६ महिनाका लागि निलम्बन गरिएको छ। बाँकी विषयमा थप अनुसन्धान गर्ने काम भइरहेको उनको भनाई छ।