सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरमा २,७११ स्वास्थ्य उपकरणको सर्वेक्षण, अधिकांश प्रयोग नहुँदै थन्किए

२०८१ जेठ २५, ०१:१४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा दुई हजार ७ सय ११ वटा स्वास्थ्य उपकरणको सर्वेक्षण गरिएको छ।

प्रदेशभित्र सञ्चालित जिल्ला, आधारभूत र प्रादेशिक अस्पतालमा राखिएका स्वास्थ्य उपकरणको सर्वेक्षण गर्दा धेरैजसो उपकरणहरु प्रयोगमा नआउँदै थन्किन पुगेको पाइएको हो। विषेष गरी कोभिड महामारीका समयमा सरकारले खरिद गरेकादेखि दाताले अनुदान दिएकासम्मका स्वास्थ्य उपकरण प्रयोग नहुँदै थन्किएका छन्।

२०२३ अक्टोबरदेखि गत मार्चसम्म सुदूपश्चिमका विभिन्न जिल्ला, आधारभूत र प्रादेशिक अस्पतालमा ठूलो संख्यामा उपकरणहरू थन्किएको फेला परेको छ। सुदूपश्चिममा दुई हजार ७ सय ११ उपकरणहरूको सर्वेक्षण गरिएको थियो। ती उपकरणमध्ये ५० प्रतिशतभन्दा बढी कोभिडको समयमा दाताहरूले अनुदानमा दिएका उपकरण भएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

कोभिडको महामारीबिच ल्याइएका ती उपकरणहरु प्रयोगमा नआउँदै ‘ब्याक अप’ का लागि भन्दै स्टोरमा थन्क्याइएको छ। उपकरणहरु आवश्यक परेको समयमा प्रयोगमा ल्याउने भन्दै राखिए पनि लामो समयसम्म थन्किँदा बिग्रिने जोखिम उत्तिकै छ। 

बाजुरा अस्पताल, बझाङ अस्पताल, महाकाली प्रादेशिक अस्पताल, दार्चुला अस्पताल, मंगलसेन अस्पताल, सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, मालाखेती अस्पताल, डडेल्धुरा अस्पताल, जोडबुडा अस्पताल तथा बैतडी अस्पतालमा उपकरण थन्किएका छन्। ती अस्पतालमा सर्वेक्षण गर्दा महामारीमा अनुदान आएका धेरैजसो सामानहरू थन्किएको स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाले गरेको सर्वेक्षणले देखाएको छ।

सर्वेक्षणको क्रममा कोभिड महामारीको समयमा अनुदानमा आएका सामानहरू धेरैजसो थन्किएको फेला परेको छ। अस्पतालहरूमा रहेका उपकरणमध्ये बिग्रिएर, जडान नगरेर र प्रयोग नगरेर २९% थन्किएको सर्वेक्षणले देखाएको छ। उपकरणको अवस्था अपडेट गर्न अनिवार्य गरिएको डिजिटल लगबुक जिन्सी व्यवस्थापन प्रणालीसमेत कार्यान्वयनमा नल्याउँदा समस्या भइरहेको बिभागले जनाएको छ। सेती प्रादेशिक अस्पतालका प्रमुख डाक्टर शेरबहादुर कमरले भने कोभिड बेडबाहेक सबै प्रयोगमा रहेको दाबी गरेका छन्। उनले कोभिड नभएका कारण ती बेडहरु सञ्चालनमा नभएपनि अरु उपकरण सञ्चालनमै रहेको बताए।

कमेन्ट लोड गर्नुस