सरकार ! मझगाउँ विमानस्थल सुचारुका लागि बजेट खोई ?
संघिय सरकारले विगत २० वर्षदेखि बन्द रहेको मझगाउँ विमानस्थल सञ्चालनका लागि बजेट विनीयोजन नगरेपछि कञ्चनपुरबासी आन्दोलित भएका छन्। संघर्ष समिति गठन गरेर दवाव मुलक कार्यक्रम गर्दै आएका जिल्लाबासीले विमानस्थल सुचारु गर्न बजेट विनीयोजन नगरेको भन्दै आज महेन्द्रनगर बजारमा प्रर्दशन गरेका छन्। संघर्ष समितिको नेतृत्वमा महेन्द्रनगरको मदनचोकदेखि सुरु भएको ¥याली बजार परिक्रमा गर्दै ट्राफिक चोक हुदै पुनः मदन चोकै पुगेर समापन गरिएको छ। मझगाउँ विमानस्थल संघर्ष समितिका संयोजक रमेश चन्दले संघिय सरकारले बजेट नछुट्याएपछि सांकेतिक दबाब मुलक कार्यक्रम गरिएको बताए।
उनले विमानस्थल सञ्चालनका लागि आफूहरु प्रक्रियागत रुपमा अघी बढिरहेका बेला सरकारले बजेट विनीयोजन नगरी कञ्चनपुरबासीमाथि अन्याय गरेको बताउँदै संघर्षका कार्यक्रम निरन्तर सञ्चालन गरिने बताए। अहिले सुदूरपश्चिममा नियमित रुपमा सञ्चालन रहेको धनगढी विमानस्थल स्तर बृद्धीका लागि एक महिना सम्म बन्द हुँदा हवाई यात्राका लागि नेपालगञ्ज पुग्नुपर्ने बाध्यता रहेको छ। पहाडी जिल्लामा अछामको साफेवगर विमानस्थलमा परिक्षण उडान सफल भएपनि नियमित उडानका लागि सरकारी र नीजि विमान कम्पनीहरुले चाँसो दिएका छैनन्।
यो समयमा कञ्चनपुरको मझगाउँ विमानस्थल सुचारु भएको भए सुदूरपश्चिमबाट हवाई यात्रा गर्न चाहनेहरुलाई धेरै सहज हुने उनको भनाई छ। त्यसैले मझगाउँ विमानस्थल सुचारु गर्नका लागि दवावमुलक अभियान सुरु गरेको उनले बताए। असुरक्षाको कारण देखाउँदै सशस्त्र द्वन्द्वकालमा बन्द भएको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि यस अघि पनि पटक–पटक संघर्षका कार्यक्रम भएका थिए। तर त्यसले सार्थकता पाउन सकेको छैन्।
जसले गर्दा विमानस्थलमा दिनभरी गाई गोरुको बथान देखिन्छ भने धेरैका लागि खेल मैदान बनेको छ। तर विमानस्थल सञ्चालनका लागि चुनावी एजेण्डा बनाएका नेताले पनि कुनै वास्ता गरेका छैनन्। २०५६ सालमा असुरक्षाको कारण देखाउँदै बन्द भएको भीमदत्त नगरपालिका वडा नम्वर १६ मझगाउँमा रहेको विमानस्थल पुनः संचालन भए पर्यटन प्रवद्र्धनका लागि सेतु सावित हुने विश्वास गरिएको छ।
एसियाको दोस्रो लामो झोलुङ्गे पुल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष, बेतकोट ताल, बैजनाथ धाम, लिङा क्षेत्र लगायतका पयर्टकीय गन्तव्य कञ्चनपुरमै भएपनि अपेक्षाकृत रुपमा पर्यटक भित्रिन नसक्नुमा जिल्लामा विमानस्थल सुचारु नहुनुलाई पनि लिईएको छ। देशकै पश्चिमी सीमानाका नजिक रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनमा आए नजिकै रहेको भारतको राजधानी दिल्लीबाट समेत पर्यटक भित्र्याउन सजिलो हुने पर्यटन व्यवसायी पर्मानन्द भण्डारीको भनाई छ। झन्डै ५२ बिघा क्षेत्रफलमा रहेको विमानस्थल अहिले गौचरणमा परिणत छ। जग्गाको संरक्षका लागि समेत कुनै योजना राखिएको छैन्। विमानस्थलमै निर्माण गरिएका करोडौका संरचनाको समेत सुरक्षा गरिएको छैन्।