सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको शुक्लाफाँटामा खरमजुरको गणना र अनुगमन हुँदै

२०८१ जेठ २४, ०९:५२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना तथा अनुगमन गरिएको छ। 

नेपाली पन्छी संरक्षण सङ्घको सहयोगमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले एक साता अघिदेखि खरमजुरको गणना र अनुगमन गरेको हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले खरमजुर गणना तथा अनुगमन हरेक वर्ष हुँदै आएको बताए।

उनले खरमजुर गणनाका लागि पन्छी संरक्षण सङ्घ र निकुञ्ज प्रशासनबाट २० जनाको सङ्ख्यामा प्राविधिकसहितको टोली खटिएको बताए। विश्वमै अतिसङ्कटापन्न अवस्थामा रहेको खरमजुर अनुगमन स्थलगत रुपमा सकिएको उनको भनाइ छ। ‘फिल्डमा अनुगमनको काम सकेर अहिले प्राविधिक टोलीले सम्भाव्यता अध्ययन गरिरहेको छ’, उनले भने, ‘यहाँ खरमजुर शुक्लाफाँटाको घाँसेमैदानलगायत विभिन्न क्षेत्रमा देख्न पाइन्छ।’

यहाँ खरमजुरको अनुगमन आवश्यकताअनुसार हात्तीलगायत विभिन्न विधिबाट अनुगमन हुने गरेको छ। निकुञ्जको घाँसेमैदान, अर्जुनी क्षेत्र, हरैया, लालपानीलगायतका क्षेत्रमा अनुगमन गरिएको हो। यसअघि गरिएको अनुगमनमा शुक्लाफाँटामा सात वटा खरमजुर भेटिएका थिए। शुक्लाफाँटा चार सय ५० भन्दाबढी प्रजातिका चराचुरुङ्गीको बासस्थान पनि हो।
 

कमेन्ट लोड गर्नुस