सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी हराभरा बन्दै, ट्री–गार्डसहित ८ हजारको संख्यामा वृक्षारोपण

२०८१ जेठ २३, ०६:५० कमल सावद

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले गत आर्थिक वर्षमा दुईवटा ठेक्का मार्फत ट्री–गार्ड खरिद गर्यो।

धनगढी नगर विकास समितिको ३९ लाख ७४ हजार ६ सय पाँच रुपैयाँमा सात सय ८६ वटा ट्री–गार्ड र उपमहानगरपालिकाको २० लाख ९१ हजार ९६९ रुपैयाँमा ७२६ वटा ट्री–गार्ड खरिद गरिएको हो। मोहनापुल–अत्तरिया ६ लेन सडक क्षेत्रमा पहिलो चरणको वृक्षारोपण गरिएको हो। चालु आर्थिक वर्षमा तीनवटा ठेक्का मार्फत ट्री–गार्डहरु खरिद गरिएको छ।

उपमहानगरपालिकाले २०८० असार १९ गते २ हजार ७५० वटा ट्री–गार्ड खरिदका लागि ७५ लाख ७ हजार ४३७ रुपैयाँमा सम्झौता गरेको थियो। धनगढी विमानस्थल सडक, धनगढीको चक्रपथ हुलाकी राजमार्ग क्षेत्रमा उक्त ट्री–गार्डसहित बिरुवा रोपिएको हो। उपमहानगरपालिकाले २०८० फागुन १४ गते एक हजार ३१० वटा ट्री–गार्ड खरिदका लागि ४५ लाख एक सय १२ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

उक्त ट्री–गार्डहरुमा समेत वृक्षारोपण गरिएको छ। २०८० चैत ४ गते थप एक हजार तीन सय ट्री–गार्ड खरिदका लागि ४३ लाख ७२ हजारमा सम्झौता भएको छ। उपमहानगरपालिकाले हालसम्म ८ हजार बिरुवा रोपिसकेको छ। मोहनापुल–अत्तरिया ६ लेन सडक, वनदेवी मन्दिर क्षेत्र, हुलाकी राजमार्ग, विमास्थल सडक, चक्रपथ र मोहना आर्यघाट क्षेत्रमा ट्री–गार्डसहित वृक्षारोपण गरिएको छ।

उपमहानगरपालिकाले आफ्नै जनशक्तिबाट रोपिएका बिरुवामा सिँचाई समेत गर्दै आएको छ। हरियाली प्रवद्र्धन अभियान नै सञ्चालन गरेर उपमहानगरपालिकाले ४४ लाख ७५ हजार  रुपैयाँ जनस्तरबाट संकलन गरेको छ। हालसम्म उक्त रकमबाट १२ लाख १९ हजार ९० रुपैयाँ खर्च भएको छ। गत आर्थिक वर्षमा १८ लाख ५५ हजार रुपैयाँ हरियाली पवद्र्धन कार्यक्रम कोषमा जम्मा भएकोमा चालु आर्थिक वर्षमा थप २६ लाख २० हजार जम्मा भएको छ।

मोहनापुल–अत्तरिया ६ लेन सडकको डिभाइडरमा तार जालीसहित तीन हजार १३५ बिरुवा रोपेर हरियाली कार्यक्रमको सुरुवात गरेको उपमहानगरपालिकाले ६ लेन सडकको दुबैतिर ट्री–गार्डसहित थप दुई हजार ३९ बिरुवा रोपेको छ। उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा एक करोड बजेट विनियोजन गरेको छ। हालसम्म ९५ लाख ३१ हजार रुपैयाँ खर्च भइसकेको छ। 

मोहनापुल–अत्तरियामा ६ लेन सडकमा उपमहानगरपालिकासँगै भाटभटेनीसहितका संघ÷संस्थालेसमेत वृक्षारोपण गरेका छन्। उपमहानगरपालिकाले दोस्रो चरणमा ६ लेन सडकका दायाँ र बाँया समेत वृक्षारोपण गरेको हो। यसका साथै वनदेवी सडक क्षेत्रमा पनि ६६ वटा बिरुवा रोपिएको छ। निर्माणको चरणमा रहेको हुलाकी राजमार्गमा वृक्षारोपण गर्ने काम हुँदैछ।

हुलाकी राजमार्गको मनहेरा क्षेत्रमा २३५ वटा फलफूलका बिरुवासमेत रोपिएको छ। ती विरुवा चराका लागि रोपिएको हो। वृक्षारोपण कार्यक्रमलाई उपमहानगरपालिकाले ‘हरित धनगढी’ नाम दिएको छ। एक ट्री–गार्डमा नाम राखेको उपमहानगरपालिकाले पाँच हजार रुपैया लिने गरेको छ।

सुन्दर र पर्यावरणलाई जोगाउन उपमहानगरपालिकाले नागरिकलाई सँगसँगै जोडेको छ। बिरुवा, ट्री–गार्ड र बिरुवाको हेरचाह उपमहानगरपालिकाले गर्दै आएको छ। सुन्दर र हरियालीयुक्त धनगढी बनाउने उद्देश्यसहित सुरु गरिएको कार्यक्रममा नागरिक तथा विभिन्न संघ÷संस्थाको सहभागिता बढ्दै गएको छ। साथै प्रकृति प्रेमीहरुले देश तथा विदेशबाट समेत रकम पठाउने गरेका छन्।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस