धनगढीमा नयाँ पाठ्यक्रम र मूल्यांकनबारे शिक्षकहरूलाई तालिम दिन सुरू
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले नयाँ पाठ्यक्रम र मूल्यांकन पद्धतिको विषयमा शिक्षकहरूलाई तालिम दिन सुरु गरेको छ।
पाठ्यक्रम र मूल्यांकन प्रणालीको सही प्रयोग सम्बन्धी तालिम दिन सुरू गरिएको हो। पाठ्यक्रममा विद्यार्थीको सिकाइ उपलब्धिको मूल्यांकन आन्तरिक रुपमा प्रयोगात्मक र वाह्य रुपमा लिखित परीक्षा गर्ने व्यवस्था गरिएको छ। पाठ्यक्रमले निर्दिष्ट गरेअनुरुप शिक्षक–शिक्षिकाहरूलाई पठनपाठन र मूल्यांकन गर्न दक्ष बनाउन नगरपालिकाले विज्ञ स्रोत शिक्षक मार्फत तालिम दिन थालिएको विज्ञ स्रोत शिक्षक गणेशराज भट्टले बताए।
‘धनगढी उपमहानगरपालिकाले परिवर्तित पाठ्यक्रम र मूल्यांकन प्रणालीलाई प्रयोग गर्न सक्ने बनाउन शिक्षक–शिक्षिकाहरूलाई तालिम दिन थालिएको हो’, उनले भने, ‘पाठ्यक्रमको प्रयोग र सिकाइ उपलब्धिको मूल्यांकन गर्न शिक्षकहरूलाई दक्ष बनाउन सुरू भएको तालिम पहिलो चरणमा धनगढीका नमुना विद्यालयबाट सुरू भएको छ।’
अहिले कक्षा १ देखि ३ सम्म कुनै पनि किसिमको परीक्षा नलिइ विद्यार्थीको निरन्तर मूल्यांकन गर्नुपर्ने व्यवस्था छ। यस्तै, कक्षा ४ देखि ८० सम्म ५० प्रतिशत प्रयोगात्मक र ५० प्रतिशत लिखित परीक्षा गर्नुपर्ने व्यवस्था गरिएको छ। कक्षा ९ देखि १२ सम्म हरेक विषयमा २५ प्रतिशत प्रयोगात्मक र ७५ प्रतिशत लिखित परीक्षा हुने मूल्यांकन प्रणाली छ।
बदलिएको पाठ्यक्रम र मूल्यांकन प्रणालीको विषयमा जानकारी दिन उपमहानगरपालिकाले सामुदायिक विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिकाहरूलाई तालिम दिन थालेको विज्ञ स्रोत शिक्षक भट्टले बताए। विगतमा त्रैमासिक, अर्धवार्षिक र एक सय पूर्णाङ्कको वार्षिक परीक्षा लिएर विद्यार्थी मूल्यांकन गर्नुपर्ने व्यवस्था अहिले बदलिएको छ।
अहिले कक्षा कोठामै शिक्षकले पढाएको विद्यार्थीले सिक्यो कि सिकेन भनेर मूल्यांकन गर्नुपर्ने पद्धति विकास गरिएको छ। जसका लागि परियोजना कार्य, कक्षा हाजिरी, मौखिक परीक्षा जस्ता कुरालाई पनि मूल्यांकनको आधार मानिएको छ। पाठ्यक्रमले तोकेका सिकाइ उपलब्धि हासिल गर्न र मूल्यांकनका लागि तोकिएका सबै साधनको प्रयोग गर्न सक्षम बनाउन तालिम दिन थालिएको विज्ञ स्रोत शिक्षक भट्टको भनाइ छ।
धनगढी उपमहानगरपालिकाले विद्यालयमा अध्यापनरत शिक्षकहरुको क्षमता विकासका लागि पाठ्यक्रम र मूल्यांकन सम्बन्धि तालिममा सम्पूर्ण शिक्षक–शिक्षिकाले सहभागी हुनुपर्ने नियम बनाएको छ। नगरपालिकाले नियुक्त गरेका विज्ञ स्रोत शिक्षकले सम्बन्धित विद्यालयमै गएर तालिम दिने व्यवस्था मिलाइएको छ।