सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय मावि सुखडको ८ कट्टा जग्गा खाली, विद्यालय घेरबार गर्दै

२०८१ जेठ २३, ११:५० कमल सावद

धनगढीः कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको ८ कट्‍ठा जग्गा खाली भएको छ। विद्यालयको जग्गामा निर्माण गरिएका निजी संरचनाहरू खाली गरिएको हो।

विद्यालयको जग्गामा निर्माण गरिएका अस्थायी घर टहरामा नगरपालिकाले डोजर लगाएको थियो। केही संरचनाहरू स्थानीय आफैले खाली गरेका हुन्। तीन/चार वटा घर बाहेक सबै संरचनाहरू खाली भएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र हमालले बताए। उनका अनुसार निजी घर भित्रका सामाग्रीहरू भने खाली गरिएको छ। विद्यालयलाई भौतिक संरचना हटाउन उनीहरूले भनेका छन्।

विद्यालयको नाममा दर्ता स्रेस्ता कायम रहेको ८ कट्‍ठा भएको कित्ता नम्बर ९७ को ०–८–० क्षेत्रफलमा निर्माण गरिएका अस्थायी घर टहरा तथा विभिन्न संरचनाहरू हटाइएको हो। भौतिक संरचनाहरू खाली भएपछि विद्यालयले घेरबार तथा पर्खाल निर्माण गर्ने भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हमालले पर्खाल निर्माणका लागि खरिद समिति गठनको तयारीमा रहेको बताए। विद्यालयको ८ कट्‍ठा जग्गामा विशेष आवासीय विद्यालय निर्माण गर्ने योजना छ। तर, विशेष आवासीय विद्यालय निर्माणका लागि बोलपत्रको प्रक्रिया लामो हुने भएकाले पर्खाल निर्माणका लागि समिति गठनको तयारी थालिएको अध्यक्ष हमालले बताए।

सुदूरपश्चिम प्रदेशकै नमुना विशेष विद्यालय सञ्चालनका लागि राष्ट्रिय माध्यमिक विद्यालय छनोटमा परेको थियो। तर, विद्यालयको जग्गा खाली नहुँदा हालसम्म संरचना निर्माणका लागि सम्झौता गरिएको छैन। राष्ट्रिय माध्यमिक विद्यालयको जमिन लामो समयदेखि स्थानीय तथा व्यापारीहरूले कब्जा गरेका थिए। विद्यालयमा मासिक रूपमा भाडा तिर्ने सम्झौता गरेका उनीहरूले भाडा नदिएर जग्गा नै कब्जा गरेका हुन्।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस