सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा खपिनसक्नु गर्मी, दैनिक ५ मेगावाटले बढ्यो विद्युत खपत

२०८१ जेठ २१, ०३:१६ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा गर्मी खपिनक्नु गरी बढेको छ। धनगढीमा मात्र गत वर्षभन्दा दैनिक पाँच मेगावाटले विद्युतको खपत बढेको छ।

तर लो भोल्टेज र अनियमित हुँदा उपभोक्तालाई चर्को गर्मीमा ‘आगोमा घिउ’ थपेझैँ भएको छ। दिउँसो हुने चहलपहल निकै कम भएको छ। राति निदाउनसमेत सकस भइरहेको छ। बत्ती गएका वेला राति पनि सुत्न नसक्ने अवस्था रहेको स्थानीयको गुनासो छ। कैलालीमा बत्ती जाने र पावर कम हुने समस्या देखिएको छ।

गर्मी बढेर पंखा चलेकै वेला पनि बस्न गाह्रो भइरहेको स्थानीय गंगाबहादुर साउँदले बताए। पटकपटक विद्युत् आउने–जाने तथा पावर घटबढ हुँदा विद्युतीय उपकरण बिग्रने जोखिम समेत बढेको छ। नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख जंगबहादुर चन्दले सहरी क्षेत्रमा विद्युतको खपत उच्च हुँदा तार र ट्रान्समिटरले धान्न नसकेर समस्या देखिने गरेको बताए।

विद्युतको माग बढ्दा तार र ट्रान्समिटरले लोड धान्न नसक्ने भएपछि विद्युत् आउने–जाने र पावर कम हुने समस्या देखिन थालेको उनले बताए। ट्रान्समिटर थप्ने र सुधार गर्ने काम भइरहेको छ। धनगढीमा मात्र गत वर्षको गर्मीयामको तुलनामा अहिले दैनिक पाँच मेगावाट विद्युत् खपत बढेको छ।

गत वर्षहरूमा धनगढीमा दैनिक १६ मेगावाट विद्युत् खपत हुने गरेकोमा यस वर्ष अनुमान गरिएभन्दा निकै बढी खपत बढेको प्राधिकरणले जनाएको छ। बिहीबार ४५ दशमलव २ डिग्री सेल्सियस तापक्रम पुगेको टीकापुरमा शुक्रबार ४३ दशमलव १ र शनिबार ४१ दशमलव ६ मा झरेको छ।शनिबा र धनगढीमा ४० दशमलव ७, दिपायलमा ३९ दशमलव ४ डिग्री मापन भएको छ।

शुक्रबार धनगढीमा ४२ दशमलव ५, दिपायलमा ४१ दशमलव २ डिग्री थियो। त्यस्तै, बिहीबार धनगढीमा ४४ दशमलव १ डिग्री तापक्रम पुगेको थियो। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार पश्चिम तराईमा मौसमी गतिविधि खासै सक्रिय नरहेकाले तापक्रम घट्न नसकेको बताए। अत्यधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले विद्यालय बिदा नै दिएको छ। उपमहानगरपालिकाले जेठ १८ देखि २४ गतेसम्म बिदा दिने निर्णय गरेको हो। उपमहानगरपालिकाले जारी गरेको सूचनामा अत्यधिक गर्मी बढेकाले वर्षे बिदाबाट कट्टा हुने गरी सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

कमेन्ट लोड गर्नुस