सुदूर नेपाललाई विश्वसँग जोड्दै

जलेर घाइते भएकी बझाङकी प्रेमजलाको मृत्यु

२०८१ जेठ २०, ०५:३३ खबर संवाददाता

भारतको बैग्लुरमा खाना पकाउने ग्याँस लिक हुँदा जलेर घाइते भएकी बझाङकी प्रेमजला बोहराको मृत्यु भएको छ।

कर्नाटक राज्यको एहलंका भन्ने ठाउँमा भएको उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। दुर्घटनामा बझाङको जयपृथ्वी नगरपालिकाका–११, सुइलका एकै परिवारका पाँच जना जलेर घाइते भएका थिए। ३० वर्षीया प्रेमजलाको शनिवार साँझ मृत्यू भएको हो।

यसअघि उनका आठ वर्षीया छोरी अनिता र चार वर्षका छोरा प्रशान्तको सोही दुर्घटनामा परी मृत्यु भएको थियो। मृतक प्रेमजलाका श्रीमान मदन र जेठी छोरी निरुताको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। गत बुधवार राति ११ बजेतिर सबै परिवार कोठामै भएको बेला खाना पकाउने क्रममा एक्कासी ग्याँस बिस्फोट भएको थियो।

घटना लगतै घाइते पाँचै जनालाई नजिकैको भिक्टोरिया अस्पताल लगिएको थियो। झ्याल नभएको कोठामा बसिरहेका उनीहरुको कोठामा ग्याँस लिक भएको र सलाई बाल्ने क्रममा आगलागीबाट बोहरा परिवारका सबै सदस्य जलेर घाइते भएका थिए। घाइतेहरुको अवस्था पनि गम्भीर रहेको उपचारमा सहयोग गदै आइरहेकी जमुना पौडेलले बताएकी छन्। 
 

कमेन्ट लोड गर्नुस