सेवाग्राहीसँग घुस माग्ने नापी कार्यालय धनगढीका दुई कर्मचारी निलम्बन
धनगढीः नापी कार्यालय धनगढीमा सेवाग्राहीबाट घुस माग्ने कर्मचारीको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ।
गत जेठ ४ गते एक जना अमिन र ६ गते सर्वेक्षकले सेवाग्राहीसँग घुस मागेको विषयमा छानबिन गर्न समिति गठन गरिएको हो। जेठ ४ मा साबिकको दरख गाविस हेर्ने जिम्मेवारी पाएका अमिन र ६ गते चौमाला हेर्ने सर्वेक्षले घुस मागेको सेवाग्राहीले गुनासो गरेका थिए। जेठ ४ गते लेखापढी व्यवसायीमार्फत सेवाग्राहीबाट रकम असुल गरिएको थियो भने ६ गते सेवाग्राहीसँग २ लाख घुस माग्न कर्मचारीले बार्गेनिङ गरेको विषय बाहिर आएको थियो।
कर्मचारीले सेवाग्राहीबाट रकम असुल गरेको र गर्न खोजेको विषय बाहिर आएपछि उनीहरूमाथि छानबिन गर्न नापी अधिकृतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। घुस असुल गर्ने विषयमा नाम जोडिएका कर्मचारीलाई फाँटको जिम्मेवारीबाट मुक्त गरेर छानबिन भइरहेको प्रमुख नापी अधिकृत जनकराज भट्टले बताए।
जेठ ४ गते नापी कार्यालय धनगढीमा कार्यरत अमिन ईश्वर चौधरी र अक्षय कठरियामध्ये एकजनाले सेवाग्राहीसँग १५ हजार घुस उठाएको विषय सार्वजनिक भएको हो। नापी कार्यालय धनगढीका अमिनले घोडाघोडी नगरपालिका–१ कैलाशपुरका सेवाग्राही सर्पन विश्वकर्मा, धर्म विक र नन्दकला विकबाट घुस खाएका हुन्।
नापी कार्यालयको कोठा नम्बर ११४ मा साबिकको दरख गाविस हेर्ने अमिनले सेवाग्राहीबाट कित्ताकाट तथा जग्गा घटीबढी मिलाइदिने भन्दै १५ हजार घुस मागेका थिए। लालपुर्जा र फिल्डमा देखिएको जग्गा फरक परेकाले घटीबढी मिलाउने भन्दै अमिनले घुस मागेका थिए। त्यस्तै, जेठ ६ गते सर्वेक्षक जयबहादुर साँकीले चौमालाका सेवाग्राही बलराम सापोकोटासँग बाटोको लगत कट्टा गरेको २ लाख घुस मागेको आरोप लागेको थियो।
तीन दिनको अन्तरालमा दुई जना कर्मचारीले घुस उठाएको विषय सार्वजनिक भएपछि उनीहरूमाथि छानबिन गर्न समिति गठन गरिएको छ। नापी अधिकृत ईन्द्रबहादुर देउवाको संयोजकत्वमा जेठ ६ गते छानबिन समिति बनेको प्रमुख नापी अधिकृत भट्टले बताए। ‘मिडियामा उहाँहरूका विषयमा समाचार प्रकाशित भएपछि तीन सदस्यीय छानबिन समिति जेठ ६ गते गठन भएको हो’, उनले भने, ‘फाँटको जिम्मेवारीबाट अलग गरेर छानबिन भइरहेको छ।
छानबिन समितिलाई १५ दिनको समय दिइएको छ।’ कर्मचारीसँगै घुस उठाउन बिचौलियाको काम गर्न लेखापढी व्यवसायी र जग्गा कारोबारीबिच समेत प्रतिस्पर्धा हुने गरेको सेवाग्राहीको गुनासो छ। कार्यालय प्रमुख भट्टकै संरक्षणमा कर्मचारी तथा बिचौलियाले घुस उठाउने खेलोमेलो गर्ने गरेको सेवाग्राहीले बताउँदै आएका छन्।
काम गर्न अलमल्याउने, विभिन्न बाधा र अवरोध देखाउने र रकम असुल्ने प्रवृत्ति नापी कार्यालयका कर्मचारी रहेको बताइएको छ। तर, घुस उठाउने कार्यलाई संरक्षण नगरेको तथा सेवाग्राहीको काम बढीमा दुई दिनमा हुने गरेको नापी कार्यालयका प्रमुख नापी अधिकृत भट्टको दाबी छ। ‘हामीले सेवाग्राहीको काम सक्दो छिटो गर्ने हो। कार्यालयमा कागजात पेश गरेकै दिन नत्र भने दोस्रो दिन सबै काम सकिन्छ’, नापीका कुनै कर्मचारीले काम गर्न नमाने सेवाग्राहीले म कहाँ आएर पनि गुनासो गर्न सक्छन्। सेवाग्राहीलाई दुःख दिने काम नहोस् भनेर सिसिटिभीबाट समेत निगरानी गरिएको हुन्छ।’