सेती लोकमार्गको पहाडी क्षेत्र अलपत्र, कैलालीमा १० किलोमिटर कालोपत्र हुँदै
धनगढीः सेती लोकमार्ग क्षेत्रमा पर्ने डोटीको ठुलीगाडदेखि सेती र बुढीगङ्गाको दोभानसम्मको ४० किलोमिटर क्षेत्रभित्र पोल हटाउने र रुख काट्न दिने सङ्घीय मन्त्रीपरिषद्ले यसअघि नै निर्णय गरेको थियो।
राजमार्गमा पर्ने ८० हेक्टर जग्गा प्रयोग गर्न दिने र रुख तथा पोलहरू हटाउन स्वीकृत दिइएको थियो। तर, रुख तथा पोलहरूको क्षति बाफतको रकम आयोजना कार्यालयले नेपाल सरकारलाई दिनुपर्नेछ। सेती राजमार्ग योजना कार्यालय, अछामका सूचना अधिकारी केशवदत्त मिश्रले डोटी क्षेत्रमा रुख कटानीको स्वीकृति आएको भएपनि कटानी सुरु नभएको बताए। उनले भने, ‘ठेकेदार फिल्डमा गएको छैन।’
अछाममा १३ किलोमिटर काम अलपत्र
डोटी क्षेत्रको ४० किलोमिटर क्षेत्रका रुख कटानीको आदेश आएका बेला अछाममा १३ किलोमिटर र कैलालीमा साढे एक किलोमिटर वन क्षेत्रमा पर्ने रुख कटानीको आदेशसमेत आएको छैन। राष्ट्रिय वनभित्र पर्ने रुख कटानीको आदेश नभएकाले अछामको सेती र बुढीगंगाको दोभानदेखि गैरीगाडसम्मको सडक निर्माणको काम रोकिएको छ।
कैलालीको चुरे क्षेत्रमासमेत एक दशमलव पाँच किलोमिटर सडकमा पर्ने रुख कटानीको आदेश आएको छैन। मिश्रले भने, ‘अछाममा स–साना ठेक्काहरू छन्। अछामको दक्षिण क्षेत्रमा वनका कारणले काम रोकिएको छ। एक सय १२ देखि एक सय २५ किलोमिटरसम्म १३ किलोमिटर वनका कारणले सडक निर्माणको काम रोकिएको छ।’ अछाम क्षेत्रको सडकमा पर्ने रुख कटानीका लागि मन्त्रीपरिषद्बाट स्वीकृत भएको छैन।
साँफेबगरबाट उत्तरी क्षेत्रमा ठेक्का भएको छैन। एक सय ४४ देखि २ सय चार किलोमिटरसम्मको ६० किलोमिटरको विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भएको छ। तर, वातावरणीय प्रभाव मूल्याङ्कनको काम बाँकी नै छ। आगामी आर्थिक वर्षमा अछामको उत्तरी खण्डको सेती लोकमार्ग निर्माणको ठेक्का गर्ने तयारी गरिएको छ। तर, सेती राजमार्ग निर्माणका लागि आगामी आर्थिक वर्ष २०८१/८२ मा विनियोजन गरेको बजेटको विषय खुलेको छैन।
कैलालीमा १० किलोमिटर सडक कालोपत्र हुँदै
डोटी र अछाममा रुखका कारण सडक निर्माणको काम रोकिएका बेला कैलालीमा भने १० किलोमिटर कालोपत्रको ठेक्का सम्झौताको काम अन्तिम चरणमा पुगेको छ। जिल्लाको दुर्गौलीदेखि पर्तापुरसम्मको १० किलोमिटर सडक निर्माणका लागि सम्झौता गर्न योजना कार्यालयले पत्र पठाएको छ।
१५ दिनभित्र उक्त क्षेत्रको सडक कालोपत्रको सम्झौता हुनेछ। सेती राजमार्ग योजना कार्यालय, अछामका सूचना अधिकारी केशवदत्त मिश्रले सम्झौताको तयारीमा रहेको बताए। १० किलोमिटर सडक ३१ करोडमा कालोपत्र हुने भएको छ।