सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारलाई आर्थिक वर्षको अन्तमा सवारी साधन खरिद गर्न चटारो

फाईल फोटो
फाईल फोटो
२०७६ जेठ १६, ०७:३६ जनक विष्ट

सेवासुविधामै केन्द्रीत भएको आरोप खेप्दै आएको सुदूरपश्चिम सरकारलाई सवारी साधन खरिद गर्न समेत चटारो लागेको छ। आर्थिक वर्षको १० महिना सम्म १७ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च गरेको सुदूरपश्चिम सरकारलाई सवारी साधन खरिद गर्ने चटारो पनि छोएको हो। वर्षका १० महिना फुर्सदमै बिताएका प्रदेशका मन्त्रालयहरु आर्थिक वर्ष सकिने बेला पुँजीगत खर्च बढाउन सवारीसाधन खरिद गर्नमा केन्द्रीत भएका हुन्। वर्षभरी आफ्नै सेवा सुविधा सम्बन्धी कानुन निर्माण गर्नमा ठिक्क भएको आरोप खेप्दै आएका सरकारले आर्थिक वर्षको अन्तमा सवारी साधन खरिद गरिरहेका हो।

यसअघि केही सवारी साधन खरिद गरिसकेको आर्थिक मामिला तथा योजना मन्त्रालयले केही मोटरसाईल स्कुटर तथा एउटा गाडी खरिदका लागि टेण्डर आह्वान गरेको छ। मन्त्रालयका  सूचना अधिकारी विष्णु बहादुर रावत सवारी साधन खरिदका लागि यो वर्ष २ करोड ४१ लख बजेट विनीयोजन भएको जानकारी दिए। उनले यसअघि मन्त्रालयले एउटा गाडी खरिद गरिसकेको र अहिले थप सवारी साधन खरिदको प्रक्रिया सुरु गरिएको बताए।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले समेत बैशाख यता २ वटा गाडी, मोटरसाईकल र स्कुटर खरिदका लागि भन्दै टेण्डर आह्वान गरेको छ। मुख्यमन्त्री कार्यालयले जेठ १२ गते मात्र मोटरसाईकल र स्कुटर खरिदका लागि टेण्डर आह्वान गरेको छ। वार्षिक कार्यक्रम अनुसार नै सवारी साधन खरिदको प्रक्रिया अगाडी बढाईएको दावी गरिएपनि आर्थिक वर्षको अन्तमा टेण्डर आह्वान गरिएको छ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सूचना अधिकारी जगदिश जोशीले यसअघि विनीयोजन भएको बजेटबाटै खर्च गर्ने गरी सवारी साधन खरिद प्रक्रिया अगाडी बढाईएको बताए। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले समेत आर्थिक वर्ष अन्तमा सवारी साधन खरिदको प्रक्रिया अगाडी बढाएको छ। ९ वटै जिल्लाका प्रहरी कार्यालय र मन्त्रालयका लागि गाडी खरिदको प्रक्रिया सुरु गरिएकोमा अहिले बोलपत्रहरु मूल्याङ्कनको चरणमा रहेको मन्त्रालयका सूचना अधिकारी लक्ष्मीराज जोशीले जानकारी दिए।

 प्रदेशसभा सचिवालय र अन्य  चारवटा मन्त्रालयले यसअघि नै झण्डै  साढे ६ करोड खर्च गरेर कर्मचारी र पदाधिकारीका लागि सवारी साधन खरिद गरिसकेका छन्। विकास निर्माणका योजना कार्यान्वयनमा कछुवा गतिमा रहेको प्रदेश सरकारले आर्थिक वर्षको अन्तमा आएर पुँजीगत खर्च बढाउन सवारी साधन देखि फर्निचरका समान समेत खरिद गरिरहेका छन्।   
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस