सुदूर नेपाललाई विश्वसँग जोड्दै

गर्मी बढेपछि कैलालीका विद्यालय बन्द

२०८१ जेठ १७, ०३:४० खबर संवाददाता

धनगढीः कैलालीका विद्यालयहरूमा गर्मी बिदा दिइएको छ। तापक्रम वृद्धिले विद्यालय सञ्चालनमा कठिनाइ भएपछि जिल्लाका विद्यालय बन्द गरिएका हुन्।

कैलालीको तापक्रम बुधवार ४३ दशमलव ३६ डिग्री सेल्सियस मापन भएको थियो। गर्मीले बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएका हुन्।

धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, लम्की चुहा नगरपालिका र कैलाली बहुमुखी क्याम्पसले गर्मी बिदा दिएका छन्। धनगढी उपमहानगरपालिकाले जेठ २४ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। टीकापुर र लम्कीचुहा नगरपालिकाले सोमवारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। यता, कैलाली बहुमुखी क्याम्पसले असार १० गतेसम्म गर्मी बिदा दिएको छ। दैनिक रूपमा गर्मी बढिरहेकाले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गरेर विद्यालय बन्द गर्ने निर्णय गरिएको हो। टीकापुरका संस्थागत विद्यालयले भने जेठ २६ गतेसम्मका लागि विद्यालयको पठनपाठन बन्द गरेका छन्। कैलालीको जानकी र जोशीपुर गाउँपालिकाका विद्यालय भने बिहान सञ्चालनमा छन्।

धनगढीको तापक्रम बुधवार ४३ दशमलव ३६ डिग्री तापक्रम मापन गरिएको थियो। मङ्गलवार ४२ डिग्री सेल्सियस मापन भएको कैलालीको तापक्रम बुधवार साँझ ५ बजेर ४५ मिनेटमा सो डिग्री मापन गरिएको जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन फिल्ड कार्यालय, अत्तरियाले बताएको छ। कैलालीमा बुधवार २८ वर्षपछि उच्च तापक्रम मापन भएको हो। गत वर्ष कैलालीमा ४१ डिग्री सेल्सियस उच्च तापक्रम रेकर्ड भएको थियो। गर्मी बढ्न थालेपछि स्थानीय तहले विद्यालय बन्द गर्न थालेका हुन्।

 

कमेन्ट लोड गर्नुस