कैलालीको तापक्रम ४२ डिग्री सेल्सियस
धनगढी: कैलालीमा गर्मी बढेको छ। जिल्लामाकोे तापक्रम मङ्गलवार ४२ डिग्री सेल्सियस मापन गरिएको छ।
महाकाली वेसिन फिल्ड कार्यालय, अत्तरियाका अनुसार मङ्गलवार कैलालीको अधिकतम तापक्रम ४२ डिग्री पुगेको छ। न्यूनतम तापक्रम २९ दशमलव ५ डिग्री मापन गरिएको छ। जेठ ५ गते कैलालीको तापक्रम ४२ दशमलव १ डिग्री पुगेको थियो। गत जेठ ५ गतेको न्यूनतम तापक्रम २७ डिग्री मापन गरिएको छ।
गत शनिवार कैलालीको तापक्रम ४१ डिग्री मापन गरिएको छ। शनिवार कैलालीको न्यूनतम तापक्रम २७ दशमलव ४ डिग्री मापन गरिएको थियो। पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मी बढेको हो। तीन दिनसम्म अझै गर्मी हुने अनुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आजदेखि तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ। सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ।
तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि असर हुनसक्ने देखिएकाले सोबाट बच्न महाशाखाले अनुरोध गरेको छ। तातो हावा तथा तातो लहरबाट बच्न गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउन महाशाखाले आग्रह गरेको छ।