सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी ६ लेन सडकमा एक वर्षमा १९ सवारी दुर्घटना, रेलिङ र ट्रीगार्डमा क्षति

२०८१ जेठ १४, ०६:३७ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिका क्षेत्रमा पर्ने ६ लेन सडकमा एक वर्षमा १९ वटा सवारी दुर्घटना भएका छन्।

६ लेन सडकको रेलिङ मेडियनको तारजाली र पोलमा क्षति  पुग्ने गरी मोटरसाइकल, बस, ट्रक र डोजर लगायतका सवारी दुर्घटनामा परेका हुन्। सडक दुर्घटना हुँदा सडकको रेलिङ, मेडियनमा रहेको तारजाली, पोल, बिरुवा र स्मार्ट लाइटको पोलमा क्षति पुगेको छ। सवारी दुर्घटना हुँदा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ।

सवारी साधनले गरेको क्षतिको मूल्याङ्कन गरेर जरिबाना उठाउने र तोडफोडको संलग्न व्यक्तिबाट निर्माण गराउने काम भइरहेको नगर प्रहरी प्रमुख भुपेन्द्र खड्काले बताए। ‘एक वर्षको अवधीमा धनगढीको ६ लेन सडकको मेडियन, तारजाली, पोल र रेलिङमा क्षति पुग्ने गरि १९ वटा सवारी दुर्घटना भएका छन’् उनले भने, ‘सडक क्षेत्रमा दुर्घटना गरेर सार्वजनिक सम्पत्तिमा भएको क्षतिको असुल गाडी धनीबाट गराउने गरिएको छ।’

एक वर्षमा ५ वटा बस, ४ वटा ट्रक, ट्याक्टर, स्कारपियो र जिप समान २/२ वटा, मोटरसाइकल ४ र एउटा अटो दुर्घटनामा पर्दा ६ लेन सडकको रेलिङ, मेडियनको तार जाली, पोल, बिरुवा, ट्रिगार्ड र स्मार्ट लाइटको पोलमा क्षति पुगेको छ। नगर प्रहरीले २०८० जेठ १४ बाट सडक दुर्घटना र क्षतिको विवरण राख्न सुरु गरेको हो। त्यही दिनबाट सार्वजनिक सम्पत्तिमा क्षति पुगाउनेबाटै निर्माण गराउन थालिएको छ।

पहिलो दुर्घटनाबाट भएको क्षतिको जरिबाना उठाउन ६ महिना लागेको भए पनि अहिले भने क्षति बराबरको जरिबाना तिर्न र आफै बनाउन गाडी धनी राजी हुने गरेका छन्। दुर्घटना हुनासाथ सर्वसाधारणले समेत दुर्घटनाबारे नगर प्रहरीलाई खबर गर्न थालेका छन्। जसबाट आवश्यक कारबाही गर्न सहज भएको नगर प्रहरी प्रमुख खड्काले बताए।

‘अहिले नगरबासीले दुर्घटना हुनासाथ त्यसको सम्पूर्ण विवरण तुरुन्त हामीलाई जानकारी गराउने गरेका छन’, ‘उनले भने, ‘नगरबासीले ह्वाट्सप, मोबाइल र हटलाइनमा फोन गरेर क्षतिको सम्पूर्ण विवरण टिपाउने गरेका छन्। नगर प्रहरीको पट्रोलिङ पनि त्यो क्षेत्रमा २४ सै घण्टा हुने गरेको छ।’

राज्यलाई सर्वसाधारणले तिरेको करबाट सडक क्षेत्रमा संरचना बनाइएकाले क्षति पुगाउनेबाटै पुनर्निर्माण गराउने नीति लिइएको नगर प्रहरी प्रमुख खड्काले बताए। विभिन्न सवारी साधनबाट ६ लेन सडकमा एक वर्षमा मेडियनको ४६ पोलको तारजाली, २४ वटा तारजाली अड्याउने पोल, तीन ठाउँको फुटपाथको रेलिङ र पाइप, ८ वटा ट्रिगार्ड र एउटा स्मार्ट बत्तीको पोलमा क्षति पुगेको उपमहानगरपालिकाले जनाएको छ।

सुरूका दिनमा मर्मत गराउन र जरिबाना तिराउन समस्या भए पनि अहिले भने आफै मर्मत गर्न र जरिबाना तिर्न आउने गरेको नगर प्रहरी प्रमुख खड्काले बताए। ६ लेन सडकमा सडक अनुशासन पालना नगर्दा सवारी दुर्घटना हुने गरेको छ। तिव्र गति र ओभरटेक गर्न खोज्दा बढी दुर्घटना हुने गरेको छ। कहिलेकाहीँ सवारीमा देखापर्ने यान्त्रिक समस्याले पनि दुर्घटना हुने र सार्वजनिक सम्पत्तिमा क्षति पुग्ने गरेको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस