सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा औषधी व्यवसायीलाई धम्क्याउने डाक्टर निराजन विरुद्ध उजुरी

२०८१ जेठ १३, ०१:१७ कमल सावद

धनगढीः डाक्टर निराजन शर्मा पौडेलले धम्काएको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन परेको छ।

नेपाल औषधी व्यवसायी संघ कैलालीले डाक्टर शर्माले धम्काएको भन्दै प्रशासनमा निवेदन दिएको हो। निराजन शर्माले औषधी व्यवसायी मेगेन्द्र बोहरालाई धम्की दिएका हुन्। शर्माले औषधी व्यवसायी बोहरालाई धम्काएपछि नेपाल औषधी व्यवसायी संघ कैलालीका अध्यक्ष प्रेमराज बुढा क्षेत्री शर्मालाई भेट्न गएका थिए।

अध्यक्ष क्षेत्रीलाई पनि डाक्टर शर्माले धम्काएको भन्दै प्रशासनमा उजुरी परेको हो। धनगढीमा रहेको डाक्टर शर्माको गरिमा पोलिक्लिनिक, साई फार्मेसी र गरिमा डेन्टलका लागि आवश्यक औषधीको आपूर्ति उत्पादक कम्पनीबाट सोझै नगरेको भन्दै धम्काउने गरेको आरोप छ।

पत्रकार सम्मेलनमा बोहराले भने, ‘डाक्टर शर्माले कम्पनीबाट सोझै औषधी लिनुभएन। हाम्रो च्यानल हुन्छ। हामीले आपूर्ति गर्ने हो। कम्पनी, आयातकर्ता, सुपर वितरक र वितरक हुँदै औषधी हामी कहाँ आउने हो। उहाँले कम्पनीबाट बिलिङ्ग गर्नु खोज्नु भो, हामीसँग खरिद गर्नु भएन।’

जिल्ला प्रशासन कार्यालय कैलालीमा बुधवार दर्ता भएको निवेदनमा थोक औषधी व्यवसायीहरूसँग कम्पनीबाट सिधै मेरो क्लिनिकमा औषधी आउन तिमीहरूले किन रोक लगायौ भनि तथानाम गाली गर्ने गरेको, हकार्ने गरेको, तिमीहरूलाई जे पनि गर्न सक्छु, तिम्रा घर परिवारका सदस्यलाई अपहरण गर्न सक्छु, तिमीहरूलाई गुन्डा लगाएर जे पनि गर्न सक्नु भनेर तीन महिनादेखि धम्काउदै मानसिक यातना दिएको उल्लेख गरिएको छ।

नेपाल औषधी व्यवसायी संघ सुदूरपश्चिमका अध्यक्ष आनन्दबहादुर शाहले डाक्टर निराजन शर्मा पौडेलसँग यो विषयमा छलफल भने नभएको बताए। उनले जिल्ला प्रशासनमा निवेदन दिएको बताए। जिल्ला प्रशासनमा दर्ता भएको निवेदनको कारबाही अगाडि नबढेकाले पत्रकार सम्मेलनको आयोजना गरिएको तर्क शाहको छ। 
औषधी व्यवसायीको सिन्डिकेट छः शर्मा
सेती प्रादेशिक अस्पतालमा कार्यरत डाक्टर निराजन शर्मा पौडेलले धनगढीमा औषधी व्यवसायीहरूको सिन्डिकेट रहेको बताए। उनले भने, ‘उहाँहरूको सिन्डिकेट छ। मलाई कारोबार नगर्नु भन्नु भएको छ। नेपालगन्जबाट कारोबार गर्न मैले पाउन्न रे! धनगढीबाट मात्र मैले कारोबार गर्नुपर्ने भयो रे!’ पौडेलले गत पुस २६ गतेबाट धनगढीका औषधी व्यवसायीले हैरान बनाएको बताएका छन्।

उनले भने, ‘आफ्नो मेडिकलमा आएका बिरामीलाई औषधीमा छुट दिन कम्पनीबाट औषधी ल्याएको हो। तर, उहाँहरूले औषधी कम्पनीहरू समेतलाई धम्काउने गरेका छन्। मेल पठाउने काम गर्नु भएको छ। मलाई नेपालगन्जबाट औषधी ल्याउन दिएका छैनन्। ४/५ जना मिलेर मेरो विरुद्धमा सिन्डिकेट गरेको उनको दाबी छ। धनगढीमा औषधी बिक्री गर्न नुहने भन्दै औषधी व्यवसायीहरूले उल्टै धम्क्याउने गरेको उनको आरोप छ। उनले औषधी व्यवसायीलाई गाली गरेको, धम्काएको प्रमाण देखाउन समेत चुनौती दिएका छन्।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस